उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता, व्यानर, झण्डा र बाजागाजासहित जान नपाइने

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मनोनयन पेश गर्न जाँदा व्यानर, झण्डा, बाजागाजासहित जान नपाइने जनाएको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार आयोगको तर्फबाट विज्ञप्ति जारी गर्दै सो निर्देशन जारी गरेका हुन् ।

आयोगद्वारा जारी निर्देशनअनुसार निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्नजाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने भनिएको छ । त्यस्तै बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डासहित जान नहुने आयोगले प्रष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *