एजेन्सी । फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोलले सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा एल्चेलाई ४-० गोलले हराउँदै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि १५ अंकको अग्रता लिएको हो ।
इस्टाडियो मानुएल मार्टिनज भालेरोमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन लेवान्डोस्कीले दुई गोल गर्दा अन्सु फाटी र फेरान टोरेसले समान एक-एक गोल गरे । खेलको २० औं मिनेटमा अरौजोको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा टोरेसको पासमा फाटीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
६६ औ मिनेटमा गाभिको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जीततर्फ अगाडि बढाएका थिए । यस्तै ७० औं मिनेटमा लेवान्डोस्कीको पासमा टोरेसले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको जीत दिलाए ।
जीतसँगै बार्सिलोना २७ खेलबाट ७१ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १३ अंक जोडेको इल्चे पुछारमा छ ।