शुक्लागण्डकीका आनन्द सुन्दरलाई बाबा साहित्य साधक पुरस्कार

दुलेगाैँडा, तनहुँ । शुक्लागण्डकीका आनन्दसुन्दर श्रेष्ठसहित पोखरामा चार साहित्यिक श्रष्ठा सम्मानित भएका छन् । साहित्यिक संस्था सङ्घर्षमा कलम पोखराले साहित्य क्षेत्रमा लागेर समाजमा पुर्‍याएको योगदानको आधारमा चार श्रष्ठालाई शनिबार नगदसहित सम्मान गरेको हो ।

साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले चारै श्रष्ठालाई नगद सम्मानपत्र र दोसल्लासहित सम्मान गरेकी हुन् । ।

बाबा साहित्य साधक पुरस्कार विसं २०७८ द्वारा तनहुँका साहित्यकार तथा कवि आनन्दसुन्दर श्रेष्ठ र बाबा साहित्य साधक पुरस्कार २०७९ द्वारा लिली अधिकारी सम्मानित भएकी हुन् ।

ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७८ द्वारा म्याग्दीका लोकनाथ भुसाल र ऋषिराम रानाभाट स्मृति पुरस्कार २०७९ द्वारा कास्कीका साहित्यकार सावित्री गिरीलाई नगदसहित सम्मान गरिएको छ ।

प्रमुख अतिथि साहित्यकार हरिदेवी कोइरालाले मानिसको जीवन सङ्घर्षपूर्ण भएकाले साहित्य क्षेत्रमा कलम चलाउँदै आएका श्रष्ठाले आफ्नो कलम बन्द गर्न नुहने बताइन् । साहित्य क्षेत्रमा लागेका व्यक्तिहरु अझै पनि यो क्षेत्रबाट बाच्न सक्ने अवस्था नरहेकाले सरकारले साहित्य क्षेत्रमा लाग्ने व्यक्तिको हितमा कार्यक्रम ल्याउन जोड कोइरालाले दिइन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले राज्यको तर्फबाट साहित्य क्षेत्रलाई बेवास्ता गरिएको बताउँदै कैयौँ साहित्यिक श्रष्ठा बिरामी पर्दा उपचार नपाएर भौतारिनुपरेको गुनासो पोखे ।

मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले सफल साहित्यकार बन्नका लागि अध्ययन, लगनशीलता र अनुकूल वातावरण आवश्यक पर्ने बताए । सम्मानित व्यक्तित्व आनन्द सुन्दर श्रेष्ठले साहित्यिक क्षेत्रबाट समाजलाई परिवर्तन गर्न निकै कठिन भएको बताउँदै सरकारी क्षेत्रबाट साहित्यिक क्षेत्रका लाग्ने व्यक्तिका लागि सहयोग आवश्यक पर्ने बताए ।

शुक्ला साहित्य संगम तनहुँका पूर्वअध्यक्ष श्रेष्ठको ‘उद्वेलित मनहरू’ गजलसंग्रह प्रकाशित छ । श्रेष्ठसँग शुक्ला साहित्य संगम तनहुँको वार्षिक प्रकाशन शुक्लाप्रवाह कथासंग्रह, कवितासङ्ग्रह, गजलसङ्ग्रह, लघुकथासङ्ग्रह मुक्तकसङ्ग्रह लगायतका विशेषाङ्क, जनसंस्कृति सामयिक सङ्गालो, जनकवि गोकुल जोशी विशेषांक प्रगतिपथ सम्पादनको अनुभवसमेत छ ।

सप्तरंगी साहित्यिक प्रतिष्ठान पोखराबाट सम्मानित श्रेष्ठ प्रगतिशील लेखक संघ, गण्डकी साहित्य संगम, गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँ, सेतीकाली साहित्य संगम लगायतका संघ, संस्थामा आवद्ध वाङ्मयिक साधक हुन् ।

गण्डकी प्रदेशका स्रष्टालाई प्रदान गरिने बाबा साहित्य साधक सम्मानबाट लमजुङका रुपिन्द्र प्रभावी, पोखराकी सरस्वती श्रेष्ठ ‘सरु’, बागलुङका सुमन श्रापित, पर्वतका शान्तिनारायण श्रेष्ठ, कास्कीका धनबहादुर गायक र कृष्णप्रसाद पौडेल सम्मानित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *