काङ्ग्रेस, एमाले, माओवादी वा यो त्यो किन त ?

केशवप्रसाद भट्टराई ।
१. मुलुकसँग सात वटा संविधान लेखेको र जारी गरेको अनुभव छ । संविधानको आधारभूत चरित्रको हिसावले मुलुकसँग आठ वटा संविधान जारी गरेको अनुभव छ । २००४ सालको संविधानबारे थाहा छैन तर २००७ (१९५१),२०१५, २०१९ को तेस्रो संसोधन २०३७, २०४७, २०६३ गरेर पाँच वटा संविधानको निर्माणमा र तिनलाई जारी गराउनमा काङ्ग्रेस प्रत्यक्ष /परोक्ष रूपमा संलग्न छ । २०१५ साल देखिका सवै संविधान निर्माणमा कम्युनिष्टहरू पनि प्रत्यक्ष /परोक्षरूपमा संलग्न छन् । २०४७, २०६३को संविधान बनाउने र जारी गराउनमा त निर्णायक र नेतृत्वदायी भूमिका नै थिए । त्यसपछि आएको हो २०७२ सालको वर्तमान संविधान । त्यतिलामो संवैधानिक अनुभव भएका दलहरूका नेताहरूले बनाएको हो वर्तमान २०७२ सालको वर्तमान संविधान ।

२. तर संवैधानिक चरित्रको हिसावले ७२ सालको संविधान सवैभन्दा कमजोर छ र संविधान निर्माणमा संलग्न दलकै नेताहरू यो वा त्यो हिसावले संविधानको आलोचना गरिरहेका छन् ।
भन्नलाई यो संविधानको रक्षा उनीहरूको प्रमुख लक्ष हो तर सवैले एक मतले भनेको कुरा भने– यो संविधान दवावमा निर्माण भएको थियो । दवाव अन्य दलको र वाह्य शक्तिहरूको थियो, संविधान जारी गराउन पनि दवाव र जारी नगराउन पनि दवाव ! संविधानसँग कोही खुसी थिएनन् । छैननन् । त्यसैले आफ्ना राजनीतिक अभाव वा अवसरवादको प्रतिरक्षा गर्न पर्यो भने सवैले संविधानलाई दोष दिन्छन् । कुनै समस्या आए दोषी संविधान । संविधानमाथि यति धेरै असन्तुष्टि र असहमति रहेको संविधान संसारमा अर्को नहोला ।

३. सवैजसो प्रमुख दलहरू गणतन्त्र हामीले ल्याएको हो भनेर छाती ठोक्छन् । तर आफ्नो सरकार मातहतका एक सैनिक उच्चाधिकारीलाई उनको नियमित सेवा अकासपूर्व अवकास दिन खोज्दा १० वर्षको बिद्रोह पछि निर्वाचित भइआएको क्रान्तिकारी सरकार–सरकार छोडेर भाग्न बाध्य भएको त हो । झन्डै दुई तिहाई वहुमतको कम्युनिष्ट सरकारको पतन, पार्टी विभाजन, एउटा सरकार आउनु र अर्को सरकार बन्नुमा पनि वाह्य भूमिका भएको कुरा उहाँहरूनै भन्नु हुन्छ । कुनै विधेयक वा कानुन आयो त्यसमा वाह्य हस्तक्षेप रहेको बताइन्छ ।
कुनै पदमा कसैको निर्वाचन र मनोनयनमा वाह्य सरोकार, कारण र हस्तक्षेप बताइन्छ ।
कुनै एउटा विधेयक वाह्य कारणले आउँछ , कुनै राज्य अधिकारीको नियुक्तिमा वाह्य हस्तक्षेप वा चाहना अनुसार नै हुन्छ भनेर तपाइँहरू भन्नुहुन्छ अनि गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता तपाइँहरूको बल र बुतामा आयो त ? अनि तपाइँ के को लागि त ? काङ्ग्रेस, एमाले , माओवादी वा यो त्यो किन त ?

४. साविकको काङ्ग्रेस, एमाले, माओवादी वा अन्य दलहरूले वाह्य शक्ति र पक्षहरूको यति धेरै भारी बोकेका छन् कि तिनबाट त्यो भारी छुटाउन संभव छैन । त्यो उनीहरुको जीवन र अस्तित्वको नै अङ्ग बनिसकेको छ । त्यसैले मुलुकका सवै सङ्कटका कारण उनीहरू हुन् । मुलुकका भार हुन् । वाह्य शक्ति र पक्षहरूको भारी नबोकेका ती पार्टीहरूका तल्ला तर संसद र पार्टीको केन्द्रीय समितिमा रहेका इमान्दार युवाहरूले आफ्नो मुलुकका आफ्ना युवा साथीहरूको र मुलुकको भविष्यको लागि आफ्नै पार्टी भित्र विद्रोह गर्न ढिला भैसकेको छ । भित्रबाट तपाइँहरूले विद्रोह गर्नुभएन भने बाहिरबाट कसैले विद्रोह गरिदिन्छ र त्यो विद्रोह तपाइँ विरुद्ध पनि हुन्छ । एउटाले नसके अर्को आउँछ, उसले नसके फेरि अर्को आउँछ, समय अवरुद्ध हुन सक्छ र ? इतिहासले पूर्णविराम लिएको इतिहास छ र ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *