पाल्पा । आधुनिकताको प्रभावले पुराना सामग्रीको प्रयोग बिर्सदै जाने गरिएको छ । अहिलेको परिस्थितीमा पहिले गाउँघरमा दैनिक चलनचल्तीमा आउने सामग्री हिजोआज खासै देख्न पाइँदैन ।
आधुनिक वस्तुको प्रयोग बढ्न थालेपछि पुर्खौली सामान गाउँघरबाटै लोपोन्मुख अवस्थामा छ । हिजोका दिनमा दैनिकजसो सबैका घर घरमा प्रयोगमा ल्याइएका सामग्री लोप हुँदै गएपछि अहिले सङ्ग्रहालयमा मात्रै सीमित हुन पुगेको छ । परम्परागत वस्तुको ठाउँमा आधुनिक खालका सामग्री खरिदमा उपभोक्ता आकर्षित हुँदै गएपछि गाउँघरमा पुर्खौली सामग्री देख्न मुस्किल परेको छ ।
अहिलेका बालबालिका ठेको, ठेकी, माना, पाथी, सेखु, हलो जुवाँबारे जानकार छैनन् । गाउँमा यी वस्तुको प्रयोग हराउँदै गयो । पुराना पुस्ताले यसैबाट दैनिकरुपमा भोगचलन गरी जीवन बिताए पनि अहिलेका पुस्ता परम्परागत वस्तुबारे अनविज्ञ छन् । आधुनिक प्रविधिको विकास, प्लाष्टिकजन्य, स्टिलजन्य सामग्रीको प्रचलन बढ्न थालेपछि पुर्खौली सामग्री लोप हुदै गएका हुन् ।
माना, पाथी, हलो, जुवाँ, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्रीबाट अहिलेका पुस्ता अनविज्ञ नहुन् भनेर पाल्पाको एक विद्यालयले सङ्ग्रहालयमा संरक्षण गरिरहेको छ । पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयमा पुराना प्रचलनमा आएका विभिन्न सामग्री, तामाका भाडा, पुराना पैसा सुरक्षित साथ सङ्ग्रहालयमा राखिएका छन् । यहाँका विद्यार्थीले दैनिक प्रयोगमा आउने पुराना सामग्रीको जानकारी लिने गरेका छन् ।
सङ्ग्रहालयभित्र तामाबाट बनेका कचौँरा, माना, करुवा, काठको आरी, हलो, जुवाँ, , फुर्लुङ, सेखु, भोटेताल्चा, रोटी राख्ने डोको, ठेका, ठेकी, पुराना पैसा, लालटिन, ढिँकी, जाँतो, दाउँ, हातहतियार, मदाने, मधुशलगायतका विभिन्न थरीका सामग्री रहेको प्रधानाध्यापक हरिप्रसाद अधिकारी बताउँछन् ।
“पुराना सामग्री गाउँघरमा अहिले कतै नपाइने भएकाले विभिन्न विद्यालयबाट शैक्षिक अवलोकन गर्न आउनुहुन्छ”, उनले भने, “हामीले कक्षा शिक्षणमा बेला बेलामा सङ्ग्रहालयमा लगेर विभिन्न सामग्री देखाउने र त्यसको प्रयोगबारे जानकारी दिने गरेका छौँ, यसले शिक्षण कार्यमा राम्रो प्रभाव पारेको छ” ।
स्वास्थ्य, नेपाली, सामाजिक विषयसँग सम्बन्धित सामग्री भएकाले शिक्षण कार्यमा धेरै सहयोग पुगेको कक्षा १० मा अध्ययनरत छात्रा दिव्या नेपाली बताउँछिन् ।
शिक्षण कार्यमा सघाउँ पुगोस् र नयाँ पुस्तालाई पुराना वस्तुबारे अवगत गराउन, गाउँघरबाट लोपोन्मुख भएका सामग्री संरक्षण गर्ने उद्देश्यले विद्यालय परिसरभित्र सङ्ग्रहालमा राखिएको हो । आफूले पढ्ने विषयसँग मिल्दाजुल्दा सामग्री सङ्ग्रहालयमा उपलब्ध भएपछि अन्यत्र खोजीनीतिका लागि भौतारिनुपर्ने अवस्था नरहेको कक्षा १० कै छात्रा अनिषा सुनारले बताइन् ।
“कक्षा शिक्षणको क्रममा आवश्यक पर्ने शैक्षिक सामग्री खोज्न गाउँ–गाउँमा पुग्न परेन, सङ्ग्रहालयभित्र पसेपछि सबै सामग्री उपलब्ध छन्, यसले बाहिर खोज्ने समय पढाइमा खर्चन पाइएको छ”, उनले भनिन् ।
पुराना वस्तु देख्न पाइने हुँदा सिकाइलाई सहजीकरण, प्रयोगात्मक कक्षालाई सहज, विद्यार्थीलाई बेलाबेलामा सिक्ने र सिकाउने वातावरण सजिलो बनेको छ । पहिले घरमा दैनिक प्रयोगमा आएका तर अहिले प्रयोग हुन छाडेका सामग्रीबारे जानकारी पाएपछि अवलोकनमा आउने विद्यार्थी, शिक्षक दङ्ग पर्छन् ।
आधुनिकताको नाममा पुराना कुरा अहिलेका पुस्ताले बिर्सदै जान थालिएपछि गाउँघरबाट सामग्री सङ्कलन गरेर विद्यालयभित्रै सङ्ग्रहालयमा राख्न थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्य बताउँछन् ।
एक वर्षमा विभिन्न स्थानमा गरी एक दर्जन जति विद्यालय यहाँको सङ्ग्रहालय अवलोकन गर्न आउने गरेको पाइएको छ । यहाँ विसं २०६५ देखि नै सङ्ग्रहालय बनाएर सामग्री संरक्षण गरेर राखिएको हो ।
सङ्ग्रहालय बन्नुअघि विद्यालयले एउटा कोठामा सामग्री सङ्कलन गरेर राख्ने गरेको थियो । यस विद्यालयमा पुराना सामग्री हेर्ने र जानकारी लिन पाइने भएकाले शैक्षिक अवलोकन भ्रमणमा शिक्षक, विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।
सैद्धान्तिक सिकाइमात्र नभई विद्यार्थी जीवनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा आजको आवश्यकता छ । विद्यालय प्रवेशद्वारभित्र पुगेलगत्तै गोलाकार घरभित्र (सङ्ग्रहालय) सजाएर राखिएका विभिन्न सामग्रीले लोभ्याइरहेको हुन्छ ।
यहाँ रहेका सामग्रीलाई विद्यालय नजिकै निर्माण भएको लक्ष्मीनारायण धर्मशाला (गुठी) मा राख्ने विषयमा पनि सरोकारवालाबीच छलफल भइरहेको छ । यस क्षेत्रमा धार्मिक धर्मशाला पुनःनिर्माण भएकाले सो धर्मशालालाई स्थानीय सरकारले सङ्ग्रहालयका रुपमा प्रयोग गर्ने जनाएको छ ।