नयाँ राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताए । राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ ।

‘लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ’, उनले भने,’यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।’

नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकुल संविधानको व्याख्या नगर्न उनले आग्रह गरे । ‘लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न’, उनले भने । फरक प्रसंगमा महामन्त्री थापाले कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको तत्काल सम्भावना नरहेको बताए ।

उनले भने,‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं । तर अहिले सम्भव छैन ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस–एमाले मिल्न सक्ने ठाउँ रहेको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *