काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो । नेपालका आशिफ शेखले शतक बनाएका छन् । उनले एक सय १० रन बनाए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो पहिलो शतक पनि हो । आशिफको एकदिवसीय खेलमा एक हजार रन पनि पूरा भएको छ । यसअघि कप्तान रोहित पौडेलले एक हजार रन बनाएका थिए ।
आज कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रनमा आउट भए । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ ।
त्यस्तै एकदिवसीय मान्यता कायमै राख्न दुई खेल जित्नुपर्ने दबाब छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ ।