बनियानी । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् ।
एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उहाँले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिएकी हुन् ।
“जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबै महिलाको विकास गर्नुपर्छ ।” दुर्गम क्षेत्रका महिलाले धेरै कष्टपूर्ण जीवन बिताइरहेका बताउदै उनले दुर्गम क्षेत्रका महिलाको आवाज उठाउनुपर्नेमा जोड दिइन् । महिला सुनको पिँजडामा होइन, स्वतन्त्र भएर सबै महिलाको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो ।
हालको महिला सभागितालाई वृद्धि गरेर ५० प्रतिशत पु¥याउन सबै महिला एकजुट हुनुपर्ने बताइन् । नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला उदाहरणीय बन्न लाग्नुपर्ने उनको भनाइ छ । समाज र मुलुकको समग्र विकासका लागि महिला र पुरुष हातमा हात साथमा साथ दिएर अघि बढ्नुपर्ने उनले उल्लेख गरिन् । महिलाको समस्या सम्बोधन गर्न र आवश्यक नीति निर्माणमा सदनमा आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा कनकाई–२ का एक सय चार वर्षीया ज्येष्ठ माता रेणुकादेवी पोखरेल, शिक्षासेवी पूर्वप्रधानाध्यापक कनकाई–७ का अञ्जना सिटौला, फुटबल खेलाडी सिमरन राई र सौन्दर्य (मोडल)कर्मी अंशिका शर्मालाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वलाई उपसभामुख रानामगरले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा नगरप्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाले महिलाको हकहित र वृत्ति विकासका लागि काम गर्दै आएको बताइन् ।
त्यस्तै उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरपालिकामा महिला हिंसाका घटना कमै रहेको बताइन् । आएका घटनालाई सबैको पक्षमा विजयको अवस्थामा मिलाउने हरसम्भव प्रयास गर्ने गरिएको बताइन् । उनले महिलाको आर्थिक, सामाजिक, राजनीतिक विकास लागि नगरले सक्दो सहयोग गर्ने र त्यस प्रकारका कामका लागि प्रस्ताव ल्याउनसमेत आग्रह गरिन् ।