काठमाडौँ । चीनको सिछुवानमा नेपाली परिकार र पानीको स्वाद चखाउँदै नेपाली होली मनाइएको छ । छन्तुका लागि नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेले उद्घाटन गरेपछि आइतबार सुरु भएको होली पर्वको विशेष कार्यक्रमका सहभागीहरुलाई सेल रोटी, तिलको लड्डु, अचार, पकौडा, रसुवाको पानीलगायतका नेपाली परिकार खुवाइएको थियो ।
छन्तुस्थित नेपाली महावाणिज्यदूतावासको समन्वयमा नेपाल राष्ट्रिय मण्डपले आयोजना गरेको होलीमा नेपाल, चीन, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, सिंगापुर, इण्डोनेसियालगायत झण्डै एक दर्जन मुलुकका दुई सय बढीको सहभागिता रहेको थियो ।
नेपालकाे साइनाे नेपाल मिडिया साेसाइटीसमेत सहआयाेजक रहेकाे होली कार्यक्रम कै अवसरमा हिमालय हस्तकला प्रदर्शनीको पनि आयोजना गरिएको थियो । सहभागीहरुलाई नेपाली हस्तकला सिङ्गिङ बौउल र त्यसको उपचार पद्धतीका बारेमा प्रयोगात्मक जानकारी दिइएको थियो ।
नेपाली हाेलीकाे उद्घाटन कार्यक्रममा महावाणिज्यदूत घिमिरेले खुशी बाँड्ने र मित्रतालाई मजबुत बनाउने एउटै उद्देश्का साथ विभिन्न देश तथा क्षेत्रका होली प्रेमी र उत्साहीहरुको भीड देखेर खुशी भएको बताए ।
विभिन्न ठाउँमा होली फरक फरक तरिकाले मनाइने भए पनि सबै ठाउँमा अबीर रंग दल्ने, पानी छर्कने र नाचगान गर्दै प्रेम, सद्भाव र उत्साहपूर्वक मनाइने यो पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको उल्लेख गरे ।
उनले भने, ‘असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने यस पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ एकआपसमा अबिर तथा रङ दलेर रमाइलो गरिन्छ ।’
नेपालको पर्यटन, कला, संस्कृति, इतिहास, भूगोलकाे जानकारी दिने उद्देश्यले दुई वर्षअगाडि नेपाल राष्ट्रिय मण्डप सञ्चालनमा आएको हो । नेपाल कल्चर एण्ड टुरिजम् इन्भेष्टमेन्ट प्रा. लि.काे समेत लगानी रहेकाे मण्डपमा नेपालको हस्तकलाका सामग्री, चिया, पानीको साथै पर्यटकीय तथा संस्कृतिक महत्वका फोटो तथा भिडियो प्रदर्शनीमा राखिएका छन् ।