नेपालद्वारा मलेसिया १० विकेटले पराजित

काठमाडौं । यु-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार चौथो खेलमा जित निकालेको छ । मङ्गलबार यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो ।

मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

यो जितसँगै नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अब नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टोली सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *