राष्ट्रपतिमा पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् ।

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् ।

देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका हुन् ।

गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेबाट नेता सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए ।

पत्रमा भनिएको छ, ‘लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं, यो अभ्यासले समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्छ त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु, राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।  रास्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं ।  यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा संभव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यासको खोजी हुन्छ ।  विमतिबिच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबिच पनी आपसमा मत माग्ने संस्कृति हाम्रो बिशिस्ट पहिचान रहिआएको छ ।  यही पृष्ठभुमिमा माननीय पौडेलका लागि रास्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबिचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु ।  सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुन्छ नै संविधान प्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहहरु भन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुन्छ ।  संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको रास्ट्रीय कार्यभार कुशलतापुर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरण तर्फ गतिशील ढंगले अघिबढ्नु हामी सबैको साझा दायित्व हो ।   यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु ।’

राष्ट्रपतिका लागि फागुन २५ गते राष्ट्रपतिका लागि मतदान हुँदैछ। राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *