विश्वकप लिग-२ : आज नेपाल र पीएसजी भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज हुने पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी)को सामना गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ११:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल जीत निकाल्दै सिरिजको सुखद शुरुवात गर्न चाहन्छ । यसै साता घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबिया सम्मीलित सिरिजमा क्लिन स्विप गरेको नेपाल उच्च मनोबलमा रहेको छ । नाबालिग बलात्कारको आरोपमा विदेश जान रोक लगाइएका मुख्य खेलाडी सन्दीप लामिछानेबिना मैदान उत्रिने नेपाल केहि कमजोर भने पक्कै देखिनेछ । सन्दीपले नेपालमा भएको सिरिजमा ४ खेल खेल्दै ११ विकेट लिएका थिए ।

नेपाललाई सिधै विश्वकपको छनोट खेल्न बाँकी ८ खेलबाट कम्तिमा ७ खेल जित्न जरुरी रहेको छ । हाल नेपाल २८ खेलबाट १२ जीत निकाल्दै २६ अंकको साथ लिगको छैटौं स्थानमा रहेको छ । यस लिगबाट स्कटल्याण्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् भने अब नेपाल, युएई र नामिबिया मध्यबाट एक टोली सिधैं छनोटमा पुग्नेछन् ।

यता लिगको पुछारमा रहेको पीएनजीपनि नेपाललाई स्तब्ध बनाउने लक्ष्यसहित मैदान उत्रिनेछ । गत वर्ष पीएनजीले नेपाललाई घरेलु मैदानमै भएको दुई खेलमा हराएको थियो । त्यसैले पीएसजी आज सोहि लयलाई निरन्तरता दिने दाउमा रहेको छ । हाल पीएनजी २८ खेलबाट मात्र दुई जीत निकाल्दै पाँच अंकको साथ लिगको पुछारमा रहेको छ । पीएसजीले लिगको पछिल्लो ६ खेलमा जीत निकाल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *