इटालीमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु

इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

समाचार संस्था एएनएसएका अनुसार कम्तीमा ३० जनाको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । आँधीबेहरीका कारण बाँचेकाहरूको खोजी कार्य जारी थियो । एजीआई समाचार एजेन्सीले एक उद्धारकर्मीलाई उद्धृत गर्दै मृतकमध्ये केही महिनाको शिशु पनि रहेको जनाएको छ ।

आप्रवासीहरूको डुङ्गामा अत्यधिक लोड भएको र सम्द्रमा व्यापक छाल आएका कारण डुबेको बताइएको छ । इटालियन तटरक्षकसँग यसबारे प्रतिक्रियाका लागि सम्पर्क गर्दा तत्काल कुनै प्रतित्रयिा दिन अस्वीकार गरेका छन् ।

इटालीकोसरकारले आप्रवासीको उद्धारसम्बन्धी विवादास्पद नयाँ कानुन संसदबाट पारित गरेको केही दिनपछि यस्तो पछिल्लो त्रासदी आएको हो । इटालीको दक्षिणपन्थी सरकारका प्रधानमन्त्री जियोर्जिया मेलोनीले अक्टोबरमा आंशिक रूपमा इटालियन तटमा पुग्ने आप्रवासीहरूको प्रवाहलाई रोक्ने प्रतिवद्धतापछि सरकारमा बहुमत प्राप्त गरेका थिए । उनी इटालीको फासिस्ट ब्रदर्स पार्टीका नेता हुन् । नयाँ कानुनले आप्रवासीको सहायताका लागि एक पटकमा एउटा मात्र डुङ्गा उद्धार प्रयास गर्न बाध्य बनाएको छ । आलोचकहरूले मध्य भूमध्यसागरमा डुब्नेहरूको सङ्ख्या बढाउने खतरा रहेको बताए । युरोपमा शरण लिन चाहनेहरूका लागि यो मार्ग संसारकै सबैभन्दा खतरनाक मार्ग मानिन्छ । द्वन्द्व र गरिबीबाट भागेर युरोपमा राम्रो जीवनको आशासहित ठूलो सङ्ख्यामा मानिसहरू अफ्रिकाबाट इटाली हुँदै यूरोप र अमेरिका जाने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *