एआइजी बढुवामा व्यापक रस्साकस्सी

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवा प्रक्रिया थालेसँगै प्रतिस्पर्धीहरूमा व्यापक रस्साकस्सी सुरु भएको छ ।

अहिले एआइजीमा बढुवा हुनेमध्येबाटै एक महिनापछि प्रहरी महानिरीक्षक (आइजिपी) हुने सम्भावना छ । यसकारण बढुवाका लागि प्रतिस्पर्धीहरू राजनीतिक नेतृत्वका शक्तिकेन्द्र धाउनेदेखि लिएर एकअर्काका कमजोरीहरू कोट्याउनेसम्मका काम हुन थालेका छन् ।

यसैक्रममा आइजिपीका लागि प्रबल दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले यस्तै रस्साकस्सीकै बीचबाट बाहिरिनुपरेको छ । २८ वर्ष सेवाकालमा नदेखिएको उमेर विवाद एआइजी बढुवाकै मुखमा बाहिरिँदा उनले सेवाबाटै राजीनामा दिनुपरेको हो ।

जन्ममिति र शैक्षिक योग्यतामा प्रश्न उठाउँदै फागुन ३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसै विवादमा आफू कमजोर हुने देखिएपछि बुधबार उनले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिएका छन् ।

अहिले एआइजी बढुवाका प्रतिस्पर्धीहरूले नै सिंहको यो कमजोरी बाहिर ल्याएको उनी निकट स्रोतको दाबी छ । ‘अहिले एआइजीमा बढुवा हुने र आइजिपी पनि बन्ने देखेपछि रोक्न प्रतिस्पर्धीहरूले नै उजुरी गर्न लगाएका हुन्,’ स्रोतले भन्यो, ‘यसमा आइजिपी धीरजप्रताप सिंह को पनि हात छ । उहाँसँग डिआइजी सिंह साबको पहिल्यैदेखि राम्रो सम्बन्ध थिएन । यसकारण सबै मिलेर आइजिपी हुनबाट रोक्न यस्तो गरिएको हो ।’

यस्तै बाँकी प्रतिस्पर्धीहरू पनि एकअर्काका कमीकमजोरी खोज्नेदेखि शक्तिकेन्द्र रिझाउनेसम्मका गतिविधिमा लागेको स्रोत बताउँछ । ‘सबै प्रतिस्पर्धी राजनीतिक दलका नेताका घरदैलो धाइरहेका छन्। प्रभाव राख्ने अन्य शक्तिकेन्द्र कहीँ न कहीँ पुगेर धाइरहेका छन्,’ प्रहरीका उच्च अधिकारीले भने, ‘एकअर्काविरुद्ध जासुसी गर्ने/गराउनेसम्मका गतिविधि भइरहेका छन्।’  यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *