सङ्कटा झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा । भद्रपुरमा जारी प्रथम मुस्ताङ–भद्रपुर–झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सलाई एक शून्य गोलले पराजित गर्दै सङ्कटा क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार मेची रङ्गशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा सङ्कटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो ।

उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्स आक्रामक खेल खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जनभन्दा बढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन ।

सुरुआतमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टरफाइनलबाटै बाहिरनुपर्यो । आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्किएका थिए । पहिलो गोलपछि भने सङ्कटाले थप गोल गर्न सकेन । त्यसपछि सङ्कटाले रक्षात्मक खेल खेल्यो ।

प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक टीकेन्द्रसिंह थापा घोषित भए । उनले नगद  २० हजार पुरस्कार पाए । बुधबारको क्वार्टरफाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *