रुसले भन्यो-बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ

रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकस्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मंगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो ।

‘स्वाभाविक रूपमा हामीले अमेरिकी राष्ट्रपतिको भ्रमणई नजिकबाट नियालीरहेका छौँ, आज पोल्याण्डमा के हुन्छ भन्नेमा पनि हामी उत्सुक छौँ, त्यसलाई नजिकबाट नियाली रहेका छौँ,’ युक्रेनलाई हतियार आपूर्ति गर्ने अमेरिका र उसका सहयोगीको चाल बुझिरहेको उल्लेख गर्दै क्रेमलिनका दिमित्री पेस्कोभले रूसी टेलिभिजनमा भनेका छन् ।

यसअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध रुसले अपराध गरेकाले उसलाई दण्ड दिनुपर्ने बताएकी थिइन् ।

रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उपराष्ट्रपतिले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेकी थिइन् ।

रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा बताएको थियो ।

रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासनमा जान बाध्य, पारेको, बालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएका धेरै प्रमाण अमेरिकासँग रहेको उपराष्ट्रपति ह्यारिसल बताएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *