स्कटल्याण्डमाथि नेपालको शानदार जीत

काठमाडौं । कप्तान रोहित पौडेलले शानदार अर्धसतक पूरा गरेपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डमाथि शानदार जीत निकालेको छ । मंगलबार दिउँसो घरेलु मैदानमा भएको खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमा लगातार चौथो जीत निकालेको हो ।

जीतको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ .१ ओभरमा ८ विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो । नेपालले लागि रोहित कुमार पौडेलले अर्धसतकीय इनिंस खेले । उनले १ सय १ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ९५ रन बनाए । रोहितलाई राम्रो साथ दिएका करण केसीले ३१ रन बनाए । उनले ३७ बलमा २ चौका र १ छक्का हिर्काए । ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आसिफ शेखले १२ रनको योगदान गरे ।

स्कटल्याण्डको लागि मार्क वाटले १० ओभरमा एक मेडन राख्दै २९ रन दिएर ३ विकेट लिए । यस्तै क्रिस ग्रेभेसले दुई विकेट लिँदा ब्राण्डन म्याकमुलेन, साफयान शारिफ र माइकल लेस्कले एक-एक विकेट लिए ।

 

यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४६ .१ ओभरमा अलआउट हुँदै २ सय १२ रनमा समेटिएको थियो । स्कटल्याण्डको लागि जर्ज मुनसेले ५० बलमा ९ चौका र २ छक्काको सहयोगमा ६० रन बनाए । यस्तै म्याथेउ क्रसले ४२, ब्राण्डन म्याकमुलेनले ३१ र क्रिस्टोफेर म्याकब्रिड तथा कायल कोट्जेरले समान २२-२२ रन बनाए ।

नेपालको लागि सन्दीप लामिछाने १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । यस्तै करण केसीले ८ .१ ओभरमा ४२ रन दिएर ३ विकेट लिए । यस्तै ललित राजवंशी र कुशल मल्लले एक-एक विकेट लिए ।

एकदिवसीयमा नेपालले पहिलोपटक लगातार चार खेलमा जीत निकालेको हो । लिग अन्तर्गतको घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजको सबै खेल जित्ने नेपाल पहिलो टोली बनेको छ । यस्तै स्कटल्याण्डलाई सिरिजको दुवै खेलमा पराजीत गर्ने नेपाल पहिलो टोली बनेको छ ।

जीतसँगै नेपाल २८ खेलबाट २६ अंक जोड्दै लिगको छैटौं स्थानमा यथावत छ । ३६ खेलबाट ५० अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा रहँदै उपाधि जितेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *