स्कटल्यान्डले दियो नेपाललाई २१३ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । मंगलबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रनमा अलआउट भयो ।

आजको खेलमा नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान एक/एक विकेट लिएका छन् । करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् ।

उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । उनले ३२ खेलमा ५० विकेट लिएका छन् । यसअघि लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । नेपालले आजको खेलमा तीव्र गतिका बलर गुलशन झाको ठाउँमा ललित नारायण राजवंशीलाई मौका दिएको छ । यो शृङ्खलामा नेपालले पहिलो पटक लगातार तीन खेल जितेको छ ।

श्रृङ्खला अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको थियो । स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्षस्थानमा छ । लिग २ को च्याम्पियन बनेको स्कटल्यान्डले आज नेपालको खेलपछि नै ट्रफी पाउनेछ ।

छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अङ्क छ । नेपालले नौ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा पाँच अङ्क मात्रै जोडेको छ ।

नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अङ्क हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग चार–चार खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय श्रृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *