एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने अन्तिम १६ को पहिलो लेगमा साविक विजेता रियल म्याड्रिड र लिभरपुल भिड्दैछन् । एनफिल्डमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जीत निकाल्दै दोस्रो लेगमा जान चाहन्छन् । गत वर्षको फाइनल खेलमा म्याड्रिडले लिभरपुललाई हराउँदै कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उक्त फाइनलमा भिनिसियस जुनिएरले एक गोल गर्दा म्याड्रिडका गोललिपर थियाबोट कार्टियसले केहि उत्कृष्ट बचाउ गर्दै म्याड्रिडलाई उपाधि दिलाएका थिए ।
समूह ‘ए’बाट दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको लिभरपुल पछिल्लो ५ वर्षमा एकपटकमात्र अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु लिगमा संघर्ष गरिरहेको लिभरपुल हाल आठौँ स्थानमा रहेको छ । लिभरपुलले पछिल्लो ५ खेलमा मात्र दुई खेलमा जीत निकालेको छ ।
यता गत सिजन पेरिस सेन्ट जर्मन(पीएसजी), चेल्सी र म्यानचेस्टर सिटीलाई पन्छाउँदै १४ औं पटक उपाधि जितेको म्याड्रिड यसपटकपनि उच्च मनोबलमा रहेको छ । समुह ‘एफ’बाट समुह विजेताको रुपमा अगाडि बढेको म्याड्रिडले गत हप्ता फिफा क्लब विश्वकपको उपाधि जितेको थियो । च्याम्पियन्स लिगमा सुखद नतिजा निकालेपनि घरेलु लिगमा भने म्याड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ५ अंक पछाडि छ । लिभरपुल विरुद्धको पछिल्लो ६ खेलमा अपराजीत रहेको म्याड्रिड आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।