टस जितेर स्कटल्याण्डविरुद्ध पहिले बलिंङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको आज हुने स्कटल्याण्डविरुद्धको  अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिंङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शूरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको हुन्  ।

आजको खेलमा नेपालले आफ्नो प्लेइङ सेटमा एक परिवर्तन गरेको छ । नेपालले आज नामिबियाविरुद्ध खेलेका गुलसन झाको स्थानमा ललित राजवंशीलाई मैदान उतार्नेछ ।

नेपालको प्लेइङ ११ – आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललित राजवंशी, करण केसी र सन्दीप लामिछाने

आज हुने खेलमा नेपाल स्कटल्याण्डलाई हराउँदै सिरिजमा लगातार चौथो जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । घरेलु दर्शकको उत्कृष्ट साथ पाएको नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराउँदै सिरिजको शुरुवात गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्डलाई तीन विकेटले हराएको नेपालले तेस्रो खेलमा नामिबियामाथि तीन विकेटको जीत निकालेको थियो । त्यसैले नेपाल आजको खेलमापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

आजको खेलमा जीत निकाल्न सकेको खण्डमा सन् २०१९ बाट शुरु भएको लिगअन्तर्गत घरेलु मैदानमा भएको सिरिजको सबै चार खेल जित्ने नेपाल पहिलो टोली बन्नेछ । यस्तै सिरिजको दुवै खेलमा स्कटल्याण्डलाई पराजीत गर्ने नेपाल पहिलो टोली बन्नेछ ।

यता तीन खेल अगावै लिग च्याम्पियन बनेको स्कटल्याण्ड आजको खेलमा जीत निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । नामिबियामाथि १० विकेटको जीत निकाल्दै सिरिजको शूरुवात गरेको स्कटल्याण्ड दोस्रो खेलमा नेपालसँग ३ विकेटले पराजीत हुँदा तेस्रो खेलमा नामिबियालिई ४३ रनले हराएको थियो । हाल स्कटल्याण्ड ३५ खेलबाट ५० अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । २७ खेलबाट २४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *