स्कटल्याण्डलाई हराउँदै लगातार चौथो जीत निकाल्ने सोचमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग दुई अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्नेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल स्कटल्याण्डलाई हराउँदै सिरिजमा लगातार चौथो जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । घरेलु दर्शकको उत्कृष्ट साथ पाएको नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराउँदै सिरिजको शुरुवात गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्डलाई तीन विकेटले हराएको नेपालले तेस्रो खेलमा नामिबियामाथि तीन विकेटको जीत निकालेको थियो । त्यसैले नेपाल आजको खेलमापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

आजको खेलमा जीत निकाल्न सकेको खण्डमा सन् २०१९ बाट शुरु भएको लिग अन्तर्गत घरेलु मैदानमा भएको सिरिजको सबै चार खेल जित्ने नेपाल पहिलो टोली बन्नेछ । यस्तै सिरिजको दुवै खेलमा स्कटल्याण्डलाई पराजीत गर्ने नेपाल पहिलो टोली बन्नेछ ।

यता तीन खेल अगावै लिग च्याम्पियन बनेको स्कटल्याण्ड आजको खेलमा जीत निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । नामिबियामाथि १० विकेटको जीत निकाल्दै सिरिजको शूरुवात गरेको स्कटल्याण्ड दोस्रो खेलमा नेपालसँग ३ विकेटले पराजीत हुँदा तेस्रो खेलमा नामिबियालाई ४३ रनले हराएको थियो । हाल स्कटल्याण्ड ३५ खेलबाट ५० अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । २७ खेलबाट २४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *