सशस्त्र प्रहरीका तीन डिआइजीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका तीन वरिष्ठ अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

उनीहरूलाई यही फागुन ४ गतेको प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयले पदोन्नति गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहमा महानिरीक्षक अर्यालले दज्र्यानी चिह्न प्रदान गरे ।

यसरी दज्र्यानी चिह्न प्राप्त गर्नेमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन् ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सङ्गठनमा आवद्ध भएपछि पदोन्नति महत्वपूर्ण रहने उल्लेख गर्दै बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायीपूर्ण रुपमा व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमिततालगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरे पनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सबै तहले कामको मूल्याङ्कन गर्ने भएको हुँदा सङ्गठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भइ समर्पित रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहे पनि त्यहाँ सङ्गठनसँग सम्बन्धित हरेक पक्षहरूमा पथ प्रदर्शक र रोलमोडल बन्नुपर्नेमा जोड दिए ।

उनले सङ्गठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धारजस्ता कार्यहरूको माध्यमबाट सशक्त सुरक्षा सङ्गठनको रूपमा उभ्याउन सबैले आ–आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकश गौतम र बंशीराज दाहाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *