राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहना होः प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् ।

सोमबार पोखराको लेखनाथमा पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्थिरताका लागि एकैठाउँमा उभिनुपर्ने बताएका हुन् ।

उनले भने,’मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए । फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

उनले राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएको पनि बताए । प्रधानमन्त्रीले भने, ‘ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन । राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ । हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ ।’

उनले दुई महिना जनतामा गएर उनीहरूबारेको ‘रिपोर्ट’ ल्याउन नेताहरूलाई निर्देशन दिए । उनले भने,, “दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौँ, उनीहरूका सुझाव लिउँ । सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्गता भएका साथीहरू भेटौँ । उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौँ ।”

समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेकाले आगामी केन्द्रीय समितिको बैठकसम्म एउटा निष्कर्षमा पुगिने उनको भनाइ थियो । उनले भने, “देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहन्छ । केही पार्टीहरूसँग एकताको निम्तिसमेत गृहकार्य भइरहेको छ । छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।”

वर्तमान सरकारले जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्रीले भने, “नयाँ सरकारले जनताको पक्षमा महत्वपूर्ण कामहरू गरेको छ । अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको छ, सुधार पनि आएको छ । सरकारी सेवाप्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ । हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *