निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्ने सरकारको तयारी छः प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड)’ ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी, ढुङ्गेपाटनमा सम्बोधन गर्दै उनले सरकार संविधानको व्यवस्था अनुरुप निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको बताए ।

सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवम् समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताउँदै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावहरूको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।

विश्वविद्यालयबाट दीक्षित विद्यार्थीले विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्र्ने विश्वास व्यक्त गर्दै उनले भने, “विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमबाट स्वदेशमा नै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाइँहरूको काँधमा छ । ”

भूकम्प, कोभिड, रसिया युक्रेनयुद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा पारेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा पारेको बाछिटालाई न्यूनीकरण गर्न राज्यले तपाईहरूको ज्ञान र सीपको अपेक्षा गरेको उनको भनाइ थियो ।

“अर्कोतर्फ वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउन सक्ने सङ्कटबाट मुलुकलाई जोगाउने जिम्मेवारी तपाईहरूको काँधमा आएको छ”, प्रधानमन्त्री दाहालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *