काठमाडौं । २५ फागुनमा तय भएको राष्ट्रपति निर्वाचनको विषय लिएर सत्ता गठबन्धनभित्र शंका बढेको छ । राष्ट्रपतिमा दाउ छोप्ने प्रयासमा रहेको नेपाली कांग्रेस भने गठबन्धनभित्र अविश्वास बढ्दा चुनाव आफ्नो पक्षमा पार्ने आशामा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक सहमतिमै नयाँ राष्ट्रपति चुनिने बताउँदै गर्दा सत्ता गठबन्धनमा रहेका दलबीच शंका बढ्दै गएको हो । कांग्रेस भने प्रचण्डबाट सहमतिको नारा आउँदै गर्दा आशा जगाएरै बसिरहेको छ ।
एमाले नेता सुवास नेम्वाङले वर्तमान सरकार निर्माण हुँदा नै राष्ट्रपति एमालेले लिने सहमति भइसकेकाले राष्ट्रपतिका लागि नयाँ सहमति आवश्यक नभएको बताए ।
‘प्रधानमन्त्रीले सहमति सहमति के सन्दर्भमा भनिरहनुभएको हो, उहाँ नै जान्नुहोला, गठबन्धनकैतर्फबाट एमालेले राष्ट्रपतिका लागि उम्मेदवार अघि सार्दै गर्दा माओवादीका साथीहरू पनि सहमत हुनुपर्ने हो,’ नेम्वाङले राजधानीसँग भने ।
शंका आशंकाकै बीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत १० पुसमा वर्तमान सरकारको खाका बनाइँदा नै राष्ट्रपति एमालेले लिने सहमति भइसकेको दाबी गर्दै आइरहेका छन् ।
ओलीले २ फागुनमा आफ्नो दलको विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डको कार्यशैली र वर्तमान सत्ता समीकरणमाथि शंका व्यक्त गरेका थिए ।
‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं, यो सफलताको कुरा हो तर कथंकदाचित यो स्थिति फेरियो भने ?, यो संसद्को बनावट नै अस्थिरताको कारक हुनेछ,’ अनेरास्ववियूको २३औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भनेका थिए ।
नयाँ राष्ट्रपतिका विषयमा एकअर्काप्रति शंका बढेपछि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटार–बालकोट आउजाउ पनि बढ्दै गइरहेको छ ।
प्रचण्ड सरकार बन्दा नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको एमाले नेताको दाबी छ ।
तर, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताए । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय अस्मितामाथि खतरा हुन सक्ने, अराजकता र अस्थिरता निम्तने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकाले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने आफ्नो दलको रणनीति रहेको स्पष्ट पारे ।
‘राष्ट्रियता रक्षाका लागि राष्ट्रपति सहमतिबाटै बनाउनुपर्छ, त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ,’ गुरुङले भने ।
गुरुङले गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसात् गर्न सक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइने भन्दै स्थिरता र राष्ट्रियताका लागि राष्ट्रिय सहमति र सहकार्य आवश्यकता रहेको बताए । तर, राष्ट्रपति समग्र राज्यसँग जोडिएको विषय भएकाले राजनीतिबाट अलग पात्रको परिकल्पना नगरिने उनले बताए ।
कांग्रेसले भने गत २६ पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा आस राख्दै आइरहेको छ । त्यसयता माओवादी र कांग्रेसको सम्बन्ध पनि सुमधुर छ । कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीले ‘कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने’ टिप्पणी गरेका थिए
पछिल्लो समय सत्तारूढ दलकै अर्को घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई शंकाको घेरामा राख्दै आइरहेको छ भने प्रचण्ड पनि राप्रपाका नेताहरूसँग सन्तुष्ट छैनन् । सरकारमा बसेर संघीयता र धर्म निरपेक्षता विषयमा राप्रपाका नेता तथा मन्त्रीबाट अभिव्यक्ति आइरहेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ असन्तुष्ट छन् ।
यसैगरी, वर्तमान सत्ता गठबन्धनमा सहभागी बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि शंकाकै घेराका बीचमा सरकारलाई समर्थन कायम राख्दै आइरहेको छ । सो दलले केही समयअघि मात्रै गृहमन्त्री पद रवि लामिछानेलाई नदिएपछि प्रधानमन्त्रीलाई दिएको विश्वास कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदै छ ।राजधानी दैनिकमा खबर छ ।