बागमती प्रदेशमा ६ महिनामा ११ अर्ब १९ करोड बजेट खर्च

बागमती । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ ।

बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौँडाका अनुसार चालु आर्थिक वर्ष ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको छ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा १५ दशमलव ७८ प्रतिशत कूल खर्च भएको बताइएको छ ।

सो अवधिमा सरकारले १६ अर्ब १५ करोड विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको प्राप्त तथ्याङ्कले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा उक्त राजस्व सङ्कलन सरकारको खर्चभन्दा बढी देखिएपनि गत आवको तुलनामा कम रहेको छ । गत आर्थिक वर्षको छ महिनामा सरकारले आठ अर्ब खर्च गरेको थियो भने सो अवधिमा सरकरले २३ अर्ब राजस्व सङ्कलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व सङ्कलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारको मुख्य आयस्रोत घरजग्गा रजिष्टे«शन, सवारी साधन, मूल्य अधिवृद्धि कर, लोकसेवाको परीक्षा शुल्क, कृषि फार्मको उत्पादन, प्रशासनिक दण्ड जरिवाना, बेरुजु असुललगायत छन् ।

साथै सङ्घीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धिकर घट्दा प्रदेश सरकारको आम्दानीसमेत कम भएको तथा घरजग्गाको रजिष्ट्रेशन शुल्क सात अर्ब अनुमानित रहेकोमा सो शुल्क कम भएकाले पनि आम्दानी कम भएको बताइएको छ ।

सरकारको आम्दानी कम भइरहको र खर्च बढी भइरहको विषयमा अध्ययन भइरहेको उहाँको भनाइ रहेको छ । छ महिनामा खर्च भएकोमध्ये रु छ अर्ब २१ करोड ८६ लाख १८ हजार पाँच सय ६३ चालु र चार अर्ब ३७ करोड ८१ लाख ६१ हजार आठ सय ५९ पुँजीगत खर्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *