उज्जन हत्या प्रकरणः सर्वोच्चद्वारा पुष्कर गौतमलाई जन्मकैदको सजाय सदर

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र युद्धका बेला ओखलढुङ्गाको तारकेराबारीका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा थुनामा रहेका पुष्कर गौतमलाई उच्च अदालत पाटनले दिएको जन्मकैद सजाय सदर गरेको छ ।

सर्वोच्चले उच्च अदालतको फैसला ठिक देखिएको भन्दै सदर हुने फैसला माघ ९ गते सुनाएको हो । न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले जन्मकैदको फैसला सदर गरेपछि गौतम तत्काल छुट्ने सम्भावना समाप्त भएको छ ।

माओवादी कार्यकर्ताले २०५५ असार १० गते गोली हानेर श्रेष्ठको हत्या गरेका थिए। उक्त प्रकरणमा बालकृष्ण ढुंगेल पनि जोडिएका थिए।

ढुङ्गेल यसअघि नै थुनामा बसेर पछि आममाफी पाएर छुटेका थिए। ढुंगेलको शौचालयमा लडेर मृत्यु भइसकेको छ । जिल्ला र उच्चले दोषी ठहर गरेपछि २०७३ भदौ २० गते सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

उनीपछि सरकार पनि सर्वोच्च पुगेको थियो । केशवहरि ढुंगेलसहित अन्य प्रतिवादीको हकमा नेपाल सरकारले पुनरावेदन गरेको थियो ।

उज्जनको हत्याविरुद्ध जाहेरी दिएको आरोपमा भाइ गणेशकुमार श्रेष्ठको पनि हत्या भएको थियो । उज्जनको हत्यामा ओखलढुंगा जिल्ला अदालतले तत्कालीन माओवादी नेता ढुंगेल र गौतमलगायतलाई दोषी ठहर गरेको थियो। तत्कालीन समयमा फरार रहेका गौतमलाई प्रहरीले २०७१ सालमा पक्राउ गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *