एजेन्सी । युवा ब्याट्सम्यान शुब्मन गिलले सतक पूरा गरेपछि भारतले न्युजिल्याण्डलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । घरेलु मैदानमा जारी टी-२० आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतले न्युजिल्याण्डलाई जीतको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको हो । भारतको लागि गिलले शानदार सतक पूरा गरे । उनले ६३ बलमा १२ चौका र ७ छक्का हिर्काए । टी-२० आईमा गिलको यो पहिलो सतक हो । यस्तै राहुल त्रिपाठीले ४४, हार्दिक पान्ड्यले ३० र सुर्यकुमार यादवले २४ रन बनाए ।
न्युजिल्याण्डको लागि माइकल ब्रेसवेल, ब्लाइर टिक्नर, इश सोधी र डार्यल मिट्चेलले एक-एक विकेट लिए । दुई टोलीबीचको सिरिज १-१ को स्थितिमा रहेको छ । आजको खेल जित्ने टोलीले सिरिज कब्जा गर्नेछ ।