देशको अर्थतन्त्र गम्भीर संकटतिर गएको भन्दै एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो २० बुँदे ज्ञापनपत्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक संकट समाधान गर्न सुझावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरुले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

देशको अर्थतन्त्र गम्भीर संकटतिर उन्मुख भैरहेको उल्लेख गर्दै एकीकृत समाजवादीले आर्थिक संकट समाधान गर्न सरकारले तत्काल चाल्नु पर्ने कदम र अपनाउनु पर्ने आर्थिक रणनीतिकाबारेमा सुझाव दिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको छ। गत मंसिरसम्मको तथ्यांक अनुसार राजस्व उठ्ती २०.७ प्रतिशतले नकारात्मक भएको छ। बैंक ब्याज चर्को हुँदा ऋणलिएर कारोवार गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी अवस्थामा पुगेका छन्। ऋण तिर्न नसकेर दैनिकजसो किसान तथा साना र मझौला व्यवसायीले आत्महत्या गरिरहेका छन्। ठूला व्यवसायीहरु पनि गंभीर संकटतर्फ उन्मुख भएका छन्। यो संकट समाधान गर्न आवश्यक कदम चाल्नुपर्छ।’

उच्च शिक्षाका लागि युवा विद्यार्थीहरू विदेश पलायन भैरहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीले विगत तीन वर्षमा मात्रै आकर्षक विषय मानिएका र एक वर्ष अघिसम्म भर्ना पाउनका लागि विद्यार्थीहरुको ठूलो संख्याको दबाब झेलिरहेका सरकारी लगानीका कलेज (आंगिक क्याम्पस)हरुले पनि विद्यार्थी भर्नाको कोटा पुरा गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *