राष्ट्रपतिमा माओवादीको के हो दाउ ?

केशवप्रसाद भट्टराई ।
माओवादी नेताहरू एमालेलाई राष्ट्रपति नदिने खुला रूपमै भन्न लागे । तर माओवादी त्यही अडानमा रहे पनि माओवादी सँगकै सहकार्यको बलमा केन्द्र र प्रदेशहरू समेत सरकारमा रहेको एमाले सरकार छोडेर अहिले काङ्ग्रेसकै जस्तो स्थितिमा पुग्न नचाहला । प्रदेशमा सरकारको नेतृत्वमा रहेको, केन्द्रीय सरकारको ढुकुटीको ताल्चा –साँचो समेत बोकेको छ एमालेले । तर प्रचण्ड काङ्ग्रेस उम्मेदवारलाई सहयोग गर्ने अवस्थामा नपुग्लान् । काङ्ग्रेस देखाएर एमालेलाई साइजमा ल्याउने र एमाले देखाएर काङ्ग्रेसलाई लडाउने दाउमा उनी माहिर छन् । अन्ततः राष्ट्रिय सहमतिको नाउमा उनले माओवादीप्रति सद्भाव राख्ने तर माओवादीको सदस्यता ग्रहण नगरेका कुनै व्यक्तिलाई प्रस्ताव गर्नेछन् ।

जे होस् एमालेको त भएन भनेर काङ्ग्रेसले चित्त बुझाउने र काङ्ग्रेसको त भएन लौ त भनेर एमाले चुपो लाग्ने । एमाले र काङ्ग्रेसको एमाले र काङ्ग्रेस भित्रको लाभ प्रचण्डले यो पाँच वर्ष मज्जाले लिन्छन् ।

हिजो पनि संसदमा सवैभन्दा ठूलो दललाई सडकमा धकेलेर सत्ताको साँचो हातमा लिएर बसेका थिए–प्रचण्डजी र आज संसदको सवैभन्दा ठूलो दललाई सडकमा पुर्याएर माछो –माछो भ्यागुतोको खेलमा अलमल्याइरहेका छन् । संसदको तेस्रो दल भएर यसरी खेल्न पाए पछि किन दुःख गर्नु पहिलो र दोस्रो हुने । काङ्ग्रेस र एमाले पालैपालो माओवादी सधैं सरकारमा । तेस्रो दल भएर पहिलो र दोस्रो दललाई याचक बनाउन पाउनु । क्या मोज !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *