लगातार दोस्रो जीतसँगै जनकपुर दोस्रो स्थानमा

काठमाडौं । नेपाल टी-२० लिगमा जनकपुर रोयल्सले लगातार दोस्रो जीत निकालेको छ । सोमबार दिउँसो भएको खेलमा विराटनगर सुपर किंग्सलाई ५ विकेटले पराजीत गर्दै जनकपुरले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो ।

जीतको लागि १ सय ४१ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । जनकपुर्को लागि चद्विक वाल्टनले सर्वाधिक ६९ रन बनाए । उनले ५५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै त्रिभोन ग्रिफिथले २५, शाराफुदिन अशार्फले २३ र मोहम्मद अदिल अलामले १० रन बनाए ।

विराटनगरको लागि हुसेन टालट, नन्दन यादव र रिजन ढकालले समान एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको विराटनगरले १९,५ ओभरमा अलआउट हुँदै १ सय ४० रनमा समेटिएको थियो । विराटनगरको लागि सिकन्दर राजाले सर्वाधिक ३८ रन बनाए । उनले १८ बलमा ४ छक्का र २ चौका प्रहार गरे । यस्तै रोहित पौडेलले २९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाउँदा हुसेन टालटले २८, अर्जुन साउदले १८ र विवेक यादवले १० रनको योगदान गरे ।

जनकपुरको लागि ललित राजवंशीले शानदार बलिंङ गर्दै ४ ओभरमा एक मेडन राख्दै ८ रन खर्चेर ५ विकेट लिए । केस्रिक विलियम्स र मोहम्मद अदिल अलामले दुई-दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट हात पारे ।

जीतसँगै जनकपुर दुई खेलबाट ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने दुवै खेलमा पराजीत विराटनगर अंकविहिन रहँदै पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *