नेपाल टी-२० लिगमा लुम्बिनीको विजयी शुरुवात

काठमाडौं । नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले विजयी शुरुवात गरेको छ । शनिबार भएको लिगको दोस्रो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजीत गर्दै लुम्बिनीले दुई अंक जोडेको हो ।

जीतको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट १६.२ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटियो । फार वेस्टको लागि हाश्मातुलाह शाहिदीले सर्वाधिक ३५ रन बनाएपनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । उनले ४४ बकमा दुई चौका प्रहार गरे । यस्तै विनोद भण्डारीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीको लागि दीपेन्द्र सिंह एरीले २.२ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिए । यस्तै सागर ढकालले ४ ओभरमा १७ रन दिएर दुई विकेट लिँदा प्याट ब्रोन, किशोर महतो र बिपुल शर्माले एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको हो । लुम्बिनीको लागि लाहिरु मिलन्थाले अर्धसतक पूरा गरे । उनले ५० बलमा ८ चौका र १ छक्काको सहयोगमा ६० रन बनाए । यस्तै कप्तान दीपेन्द्र सिंह एरीले ३८ बलमा २ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाउँदा गुलसन झाले २५ र बिपुल शर्माले १२ रन बनाए ।

फार वेस्टको लागि करण केसीले ४ ओभरमा ३३ रन दिएर तीन  विकेट लिए । उमाइर अलीलेपनि ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए ।

आजै भएको प्रतियोगिताको उद्धाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजीत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *