काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगको पहिलो संस्करण आजबाट शुरु हुँदैछ । आज हुने लिगको उद्धाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभन्जर्स भिड्दैछन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ :१५ बजे शुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड भिड्नेछन् । टियु क्रिकेट मैदानमै हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ ।
शुक्रबारबाट शूरु हुने भनिएको प्रतियोगिता प्राविधिक समस्याको कारण शनिबारको लागि सरेको हो । प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड भिड्नेछन् ।
प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ भने उप-विजेताले ३० लाख रुपैयाँ पाउनेछ । यस्तै तेस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ भने चौथो हुने टोलीले पाँच लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ भने इमर्जिङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस्तै हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने भएका छन् ।
