काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता तेस्रोपटक सरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको नेपाल टी-२० लिग आयोजकले समयमा तयारी पूरा गर्न नसक्दा तेस्रोपटक सरेको हो ।
सुरुवातमा मङ्सिर २५ गतेलाई मिति तोकेको क्यानले प्रतियोगितालाई सार्दै पुस आठमा पुर्याएको थियो । तर प्रतियोगिता शुरु हुन २४ घण्टापनि बाँकी नरहेको बेला क्यानले प्रतियोगिता अनिश्चितकालको लागि सारेको हो । आयोजना गर्ने कमर्सियल पार्टनर सेभेन थ्री स्पोर्ट्स र क्यानको लापरबाहीको कारण प्रतियोगिता तेस्रोपटक सर्न पुगेको हो ।
यता प्रतियोगिताको लागि विदेशी खेलाडी नेपालमा रहेका छन् भने सहभागि टोलीले धमाधम टोली सार्वजनिक गरिरहेका छन् । प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड भिड्नेछन् । क्यानले एक दुई दिनमै प्रतियोगिता शुरु गर्ने जनाएको छ ।
