उच्च बन्दै वायु प्रदूषण, भारत विश्वमै पहिलो प्रदूषित देश

काठमाडौं । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ ।

मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ ।

हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताए । उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका लागि दैनिक अनुगमन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा परेका छन् । हिउँदे सिजनको वर्षा नभएकाले पनि नेपालमा वायु प्रदूषण उच्च बनेको गोरखापत्र दैनिकमा समाचार छ ।

भारतका विभिन्न क्षेत्रमा नयाँ खेतीबाली सुरु गर्न लगाइएको आगो र मौसम परिवर्तनसँगै बढेको सुक्खा हावाले नेपालको वायु प्रदूषणलाई थप मलजल गरेको समाचारमा उल्लेख छ ।

भारत विश्वमै पहिलो प्रदूषित देश

विश्व वायु प्रदूषण सूचीअनुसार विश्वमा सबैभन्दा बढी प्रदूषित देश भारत रहेको छ । भारतका दिल्लीसहित दसभन्दा बढी सहर अत्यधिक प्रदूषित छन् । मानव स्वास्थ्यका दृष्टिकोणले भारत यतिबेला बस्न नहुने देशका रूपमा दरिएको छ ।

भारतपछि बुर्किनोफासो, चाड र मध्य अफ्रिकामा अत्यधिक प्रदूषित देशको सूचीमा छन् । नेपाल प्रदूषित देशमध्ये १३०औँ सूचीमा छ । नेपालको काठमाडौँ सहर सबैभन्दा बढी प्रदूषित सहर हो ।

काठमाडौँमा बिहान र बेलुकी वायु प्रदूषण उच्च हुने गरेको छ । प्रदूषणका कारण बिहान बादल लागेजस्तो आकाश धुम्म हुन्छ भने बेलुका तल्लो तहमै प्रदूषणका कण मडारिरहँदा सवारी यात्रा गर्न पनि सकस हुने गरेको आमनागरिक गुनासो पोख्छन् ।

काठमाडौँको शङ्खपार्क, खुमलटार, सल्लाघारी क्षेत्र बढी प्रदूषित क्षेत्रका रूपमा दरिने गरेको प्रदूषण अनुगमन वेबसाइटले देखाएको छ । त्यस्तै तराईका विभिन्न जिल्ला पनि मानव स्वास्थ्य प्रतिकूल रहनेगरी प्रदूषित भइरहेका छन् । तराईमा शीतलहर सुरु भएकाले पनि प्रदूषण उच्च बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *