कोरोना कालमा वैदेशिक रोजगारीमा धेरै ठगी, २१ प्रतिशतलाई जबरजस्ती कामबाट निकालियो

काठमाडौं । विश्वभरि फैलिएको कोरोना महामारीका बेला आप्रवासी श्रमिकको तलब ठगी बढेको तथ्य सार्वजनिक भएको छ ।

कोरोना महामारीका बेलामा विभिन्न वहानामा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकमाथि तलब तथा सुुविधा कटौती, तलब नपाएका र कामबाट जबरजस्ती निकालिएका घटना बढेको तथ्य सार्वजनिक भएको हो ।

कोरोना महामारी सुरु भएपछि गन्तव्य देशमा कार्यरत श्रमिकमा ७१ प्रतिशतले तलब नपाएको, ६६ दशमलव ७ प्रतिशतको तलब तथा सुविधा कटौती गरिएको र करिब २१ प्रतिशतलाई जबरजस्ती कामबाट निकालिएको तथ्याङ्क सार्वजनिक भएको हो ।

प्रवासी नेपाली समन्वय समितिको अध्ययन प्रतिवेदन, २०२२ अनुसार मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेटस (यूएई), बहराइन र कुवेतबाट कोरोनाका बेलामा वैदेशिक रोजगारीबाट फर्किएका ९० जनासँग गरिएको अध्ययनमा यस्तो पाइएको हो । जब कि कोभिड–१९ सुरु हुनुअघि त्यति नै सङ्ख्यामा गरिएको अध्ययनमा ५५ दशमलव ६ प्रतिशतको तलब तथा सुविधा कटौती गरिएको, ४४ दशमलव ४ प्रतिशतले तलब नपाएको र १६ दशमलव ७ प्रतिशतलाई कामबाट निकालिएको थियो, आजको गोरखापत्रले लेखेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘आप्रवासी श्रमिकको ज्याला ठगी र सामाजिक सुरक्षाको महत्व दर्शाउने तीनदिने प्रदर्शनी’मा सरोकारवालाले सोबारे जानकारी गराएको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *