ज्येष्ठ सदस्यको टुंगोबिनै सांसदको शपथ तय, जन्ममितिसहितको विवरण आए पनि अध्ययनमै सचिवालय

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले यही पुस ७ गते बिहीबार आफूमध्ये ज्येष्ठ सदस्यबाट शपथ लिने भएका छन् ।

तर, ज्येष्ठ सदस्यकै टुंगो लागेको छैन । कानुनअनुसार उनले ७ गतेअगावै राष्ट्रपतिसमक्ष शपथ लिइसक्नुपर्ने हुन्छ ।

‘उपस्थित हुनेमध्ये ज्येष्ठ सदस्यबाट शपथ गराउने हो । छलफल चलिरहेको छ । प्रमाणित भइसकेको छैन,’ संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

निर्वाचन आयोगले सचिवालयलाई निर्वाचित सांसदको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध गराएको छ । तर, उक्त विवरणलाई मात्रै आधार नमानेर सचिवालयले सम्भावित ज्येष्ठ सदस्यको विषयमा अध्ययन गरिरहेको प्रवक्ता पाण्डेले बताए ।

नागरिकताअनुसार ज्येष्ठ सदस्य छनोट हुनुपर्ने होइन र भन्ने प्रश्नमा उनले भने, ‘नागरिकता आधार त हो तर ज्येष्ठ सदस्य उपस्थित हुने वा नहुने कुरा पनि छ । यसअघि ज्येष्ठ सदस्य भनिएका महेन्द्र राय यादव उपस्थित नहुँदा महन्थ ठाकुरले शपथ गराउनुभएको थियो । यसको टुंगो पनि भोलि (मंगलबार) सम्म लाग्ला ।’

यसपटक माओवादीबाट निर्वाचित सांसद यादवको उमेर ८५ रहेको आयोगको विवरणमा छ । यद्यपि, महन्थ ठाकुर, चित्रबहादुर केसी र पशुपतिशमशेर जबरा सबैभन्दा बढी उमेरका सांसद रहेको पाण्डेको भनाइ छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा सोमबार जारी सूचनामा शपथग्रहण कार्यक्रममा सांसदहरूलाई नागरिकताको प्रतिलिपि, प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि अनि दुई प्रतिफोटो ल्याउन भनिएको छ । यस्तै, राष्ट्रिय वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन आग्रह गरिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *