‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बीमाको फाइल क्लोज

काठमाडौं । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बीमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ ।

संघले कोरोना बीमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजात नबुझाएकालाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो ।

संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझाएका बिमितलाई आगामी १८ पुससम्ममा आपूmले दाबी गरेका कम्पनीहरूमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन यस्तो आग्रह गरेको जनाएको छ ।

यसअघि दाबीकर्तालाई बारम्बार ताकेता गर्दासमेत आवश्यक कागजात नबुझाएको भन्दै संघले यस्तो आग्रह गरेको बताएको छ । आगामी १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीमा सम्पर्क गरी अपुग कागजात बुझाउन यसरी जानकारी गराउँदा समेत नबुझाए उनीहरूको फाइल नै बन्द गरिने सो संघले जनाएको छ ।

चौतर्फी दबाबपछि नेपाल बीमा प्राधिकरणको निर्देशनपछि बल्ल विभिन्न बीमा कम्पनीले गत १३ मंसिरदेखि कोरोना बीमाको दाबी भुक्तानी दिन सुरु गरेका थिए । सबै बिमितलाई भुक्तानी दिन अपुग रकम मात्र सरकारले निकासा गरिदिएपछि अहिले सम्बन्धित बीमा कम्पनीले पहिलो चरणमा व्यक्तिगत रूपमा बीमा शुल्क तिरेर बीमालेख जारी गर्ने बिमितलाई मात्र भुक्तानी दिइरहेको छ । पहिलो चरणको वितरण कार्य सकिएपछि सरकारी कर्मचारी तथा संस्थागत रूपमा कोरोना बीमालेख जारी गरेको दाबीकर्तालाई पीसीआर रिपोर्ट पहिलो नम्बरमा बुझाएकालाई क्रमअनुसार भुक्तानी गर्दै जाने बताएको छ ।

व्यक्तिगत दाबीकर्ताबाहेकका दाबीकर्ताको हकमा भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट आगामी दिनमा गरिने निर्णयअनुसार क्रमश: भुक्तानी गरिने निणर्यअनुसार पछि वितरण हुने संघले जनाएको छ । संघका अनुसार हाल व्यक्तिगत र परिवारको २५ हजार चारवटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ । पहिलो चरणमा सोमध्ये १८ हजार ६० वटा बीमालेखको मात्रै भुक्तानी गरिने संघले जनाएको छ ।

संघका अनुसार यो संख्या विभिन्न बीमा कम्पनीमा परेको व्यक्तिगत एवं परिवारको बीमालेख संख्याको ७२ प्रतिशत हो । सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै बीमा कम्पनीले २०७८ सालको १४ साउनदेखि भुक्तानी प्रक्रिया रोकेका थिए ।

त्यसबेलादेखि नै बीमा कम्पनीले दाबी भुक्तानी रोकेको लामो समयपछि सरकारले पुन: आफ्नो दायित्व स्वीकार गर्दै कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत हिस्सा मानी नेपाल पुनर्बिमा कम्पनीबाट १२ प्रतिशत, सम्बन्धित बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा प्राधिकरणबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने सहमति बनेको थियो । सोही सहमतिका आधारमा अहिले बीमा कम्पनीले धमाधम कोरोना बीमाको दाबी भुक्तानी रकम बाँडिरहेका हुन् ।

यो मौकामा समेत कोरोना बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात नबुझाएका व्यक्तिगत रूपमा बीमा शुल्क तिरेर बीमालेख जारी गर्ने बिमितलाई आगामी १५ दिनपछि भने भुक्तानी रकम उपलब्ध गराउन नसकिने सो संघले स्पष्ट पारेको छ । तोकिएको अवधिभित्र पनि दाबीसँग सम्बन्धित कागजात नबुझाउने दाबीकर्ताको कोरोना दाबी भुक्तानी फाइल बन्द गरिने संघले जनाएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *