नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते गर्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ । संसद सचिवालयले निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथ पुस ७ गते गर्ने तयारी गरिरहेको हो ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले नवनिर्वाचित सांसदहरूको शपथका लागि सचिवालयले तयारी गरिरहेको जानकारी दिए । उनले पुस ७ गते दिउँसो १ बजे शपथको तयारी गरेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेका छन् । हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।

सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए ।

उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा सपथ लिएका थिए ।

ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *