कांग्रेसले संसदीय दलको नेता चयन बुधबार गर्ने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार बिहान चुनाव हुने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गठन भएको निर्वाचन समितिले बुधबार बिहान निर्वाचन गर्ने तयारी थालेको हो ।

त्यसबारे तयारी अघि बढाउन सोमबार बिहानै निर्वाचन समितिको बैठक बसेको थियो । समितिकी सदस्य पुष्पा भुसालले संसदीय दलको नेताको चुनाव बुधबार बिहान ८ देखि गर्ने गरी तयारी भइरहेको जानकारी दिइन् ।

कांग्रेसले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा भुसाल र अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेको र संसदीय दलको नेता चयन भएपछि मात्रै शक्ति बाँडफाँट गर्ने दलहरू बीचको समझदारीका कारण कांग्रेसले सांसदहरूले सपथग्रहण गर्नुअगावै संसदीय दलको चुनाव गर्न लागेको हो ।

कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *