प्रादेशिक संरचनाको विरोध गरेर नेपाललाई अस्थिरताको भूमरीमा फसाउन खोजिदैछः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भूमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको बिरोध हुने गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशनको उदटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रादेशिक संरचनाको बिरोध गर्नु देशलाई अस्थिरताको भूमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको बताए ।

उनले कहीँ पनि प्रदेश विनाको शासन नभएको भन्दै संघीयतामा झनै प्रदेश आवश्यक रहेको बताए । उनले हरेक शासन प्रणालीमा तीन तहको ढाँचा हुने उल्लेख गरे । नेपालको तीन तहको संघीय ढाँचा संघीयताको विशिष्ट मोडेल भएको उनको भनाइ थियो ।

उनले संघीयतामा प्रदेश आवश्यक छैन भन्ने बुझाइ गलत भएको बताए । महासचिव पोखरेलले नेपाललाई विश्व राजनीतिको शक्ति संघर्षको थलो बनाउन खोजिएको आरोप लगाए ।

उनले भने, ‘आज फेरि अर्को बहस के गर्न खोजिँदैछ भने दुई तह भए पुग्छ प्रदेश चाहिँदैन भन्ने प्रकारको बहस चलाउन खोजिएको छ । त्यो गलत हो । यो सबै कुरा के हो त भन्दाखेरी हाम्रो नेपाललाई अस्थिरताको भूमरीमा फसाउने प्रयोगशाला बनाउने खेती हो भन्ने कुरालाई बुझ्नु जरुरी छ । आज हामी नेपालको राजनीतिभित्र नेपालका राजनीतिक दलहरुका कमीकमजोरीले मात्रै समस्या पैदा भएको छैनन् । विश्व राजनीतिको शक्ति संघर्षको थलो बनाइन खोजिँदैछ ।’

उनले नेपालको प्रशासनिक संयन्त्र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा मानसिक रुपमा तयार नभएको कारण समस्या पैदा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *