‘राइड सेयरिङ’ सेवा : सहज तर असुरक्षित यात्रा

काठमाडौं । ‘राइड सेयरिङ’ सेवा सुरक्षा र नियमनका सवालमा सरकारप्रति जवाफदेही बन्न सकेका छैनन् ।

सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर तिनको प्रयोग गर्न बाध्य छन् ।

कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा दर्ता भएका र नभएका राइडरहरू माझ अफलाइनमा मोलमोलाई गर्ने प्रवृत्ति बढ्दो छ । राइडर र व्यक्तिपिच्छे भिन्न भाडादरमा मोलमोलाइ गर्दै गरेको सडक छेउमा जति पनि देख्न सकिन्छ । अर्कोतर्फ यस्ता एप्सले आम सेवाग्राहीको दैनिकी निकै सहज बनाएका छन् ।

युवा माझ मोटरसाइकल आयआर्जनको साधन हुनुका साथै लाखौँ युवा स्वरोजगार पनि भएका छन् । तर यी सेवा कानुनी रूपमा दर्ता, व्यवस्थापन र नियमन नहुँदा सम्भावित दुर्घटना बढेको यातायात व्यवस्था विभागले जनाएको छ । हाल राइडरका रूपमा यस्ता राइड सेयरिङ एप्समा झन्डै तीन लाख ५० हजार नेपाली युवा जोडिएका छन् ।

टुटल प्रालिका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले फुर्सदको समय र बिदाका दिनमा पनि काम गर्न सकिने भएकाले युवाको आकर्षण बढेको बताए । सन् २०१८ देखि सञ्चालनमा आएको पठाओ प्रालिको पठाओ एप डाउनलोड गर्नेको सङ्ख्या ३५ लाख पुगेको छ ।

यस्तै एक लाख ५० हजार राइडर पठाओमा दर्ता भई सेवा दिइरहेका छन् । पठाओले मोटरसाइकल, ट्याक्सी र खाद्य ढुवानी (फुड डेलिभरी)को सुविधा दिँदै आएको छ । हाल पठाओमार्फत दैनिक ७० हजारले सेवा लिइरहेका छन् । पठाओको सेवा चितवन र काठमाडौँमा सञ्चालनमा छ ।

सन् २०१६ देखि सञ्चालनमा आएको टुटलले ९० हजार मोटरसाइकल दर्ता गरेको छ । दैनिक २५ हजार सेवाग्राहीले सुविधा लिइरहेका छन् । टुटलमा ९० हजार युवा स्वरोजगार छन् । यसले मोटरसाइकल र ट्याक्सीको सेवा दिइरहेको छ । टुटल र पठाओजस्तै यात्रुलाई सेवा दिने कम्पनीहरूको सङ्ख्या दर्जन पुग्न लागेको छ । इनड्राइभर, सहारा, सारथि, सजिलो, पुर्‍याइदेऊ, जाऊँ गुरुलगायतका कम्पनीले सेवा दिइरहेका छन् । यी कम्पनीमार्फत दैनिक पाँच लाखले सेवा लिइरहेको उनीहरूको दाबी छ, आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आम्दानीको राम्रो स्रोत

‘जति काम गर्न सक्यो त्यति नै बढी आम्दानी भएको छ,’ पठाओ प्रालिका बजार प्रबन्धक सुरक्षा हमालले भने, ‘फुल टाइम राइडरले मासिक ६० हजार रुपियाँ कमाएका छन्, पार्ट टाइम गर्नेले पनि मासिक २५/३० हजार रुपियाँ कमाएका छन् । बेरोजगारलाई आम्दानीको राम्रो स्रोत भएको छ ।’ उनले आफूहरूको सेवाले सेवाग्राही खुसी भएको र अहिलेसम्म सेवाग्राहीले हामी ठगियौँ भनेर कसैले गुनासो नगरेको दाबी गरे ।

एक वर्षदेखि राइडरको काम गर्दै आएका विकास घिमिरेलले भने, ‘म पार्ट टाइम काम गर्छु । फुर्सदको समय उपयोग भएको छ । काठमाडौँमा बस्ने खर्च पनि जोहो भएको छ । मोटरसाइकल त्यसै गुडाउनुपथ्र्यो अहिले त्यही मोटरसाइकलले आम्दानी दिएको छ । म त खुसी छु । युवाले काम पाएका छन् ।’

कीर्तिपुरका राम राजवंशी कामका लागि दैनिक बागबजार आउनुपर्छ । पठाओ, टुटलजस्ता सेवा आएर निकै सजिलो भएको बताउँदै उनले भने, ‘म पठाओ र टुटल नै प्रयोग गर्छु । बसमा साह्रै तनाव हुन्थ्यो । ट्याक्सीमा सधैँ चढ्नसक्ने कुरा भएन । बस चढ्न बसपार्क जानुपर्ने, भीड उस्तै तर पठाओ जहाँ बोलायो त्यहीँ आउँछ । छिटो पुगिन्छ । निकै सजिलो भएको छ ।’

उनले सार्वजनिक यातयातको भीडमा जानु नपरेको र चाहेको समयमा सवारी पाइने भएको उल्लेख गर्दै राइडरलाई गतिलो आम्दानीको स्रोत भएको र सुविधाका कारण सेवाग्राही सन्तुष्ट भएको प्रतिक्रिया दिए ।

स्वेच्छाचारी भाडादर

यी कम्पनीले सरकारी भाडा दरका आधारमा मोटरसाइकलको भाडादर कायम गरेका छन् । मोटरसाइकललाई ट्याक्सीभन्दा कम गरिएको छ । पठाओ प्रालिका अनुसार मोटरसाइकलमा सुरुमा ५५ रुपियाँ राखिएको छ, जसले एक किलोमिटर गुड्छ । त्यसपछि प्रतिकिलोमिटर १८ रुपियाँ ५० पैसा कायम गरिएको छ ।

ट्याक्सीमा भने सरकारी भाडा दर नै कायम गरिएको उहाँले जानकारी दिनुभयो । तर भाडादर ग्राहक र राइडरबीचमा सहमति गरेर पनि भाडादर मिलाउने गरिएको भट्टको भनाइ छ । राइडरबाट यी कम्पनीले मोटरसाइकलबाट २० र ट्याक्सीबाट १५ प्रतिशत कमिसन लिँदै आएका छन् ।

बढ्दै बेथिति

कम्पनीमा आबद्ध भएका राइडरभन्दा अफलाइनमा चलाउनेको सङ्ख्या बढिरहेको छ । आफूखुुुसी व्यक्तिगत रूपमा बार्गेनिङ गर्ने प्रवृत्ति बढेको छ । आइतबार गोँगबुस्थित बिजी महलअगाडि झन्डै ५० वटा मोटरसाइकल ग्राहकसँग बार्गेनिङ गरिरहेका थिए । उनीहरू अफलाइन जान अनुरोध गरिरहेका थिए । उनीहरू कुनै कम्पनीमा पनि दर्ता थिएनन् । यस्ता व्यक्ति काठमाडौँ विमानस्थलको पार्किङमा जति पनि फेला पार्न सकिन्छ ।

यस्तो प्रवृत्तिले लुटपाट र हिंसाका घटना निम्त्याउनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक डा. टोकराज पाण्डेले दुर्घटना सुरक्षा जस्ता सवालमा राइडरहरू जवाफदेही हुन नपर्ने अवस्थाले समस्या निम्त्याउने बताए ।

‘ट्याक्सीमा त्यति समस्या देखिँदैन । मोटरसाइकलमा दुर्घटना भयो भने तेस्रो पक्ष बीमाले कभर गर्छ,’ टुटलका प्रमुख अधिकृत भटट्ले भने । अहिले यातायात व्यवस्थापनको काम प्रदेश सरकारले गर्दै आएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले पठाओ र टुटललागयतका ‘राइड सेयरिङ’ सेवाको व्यवस्थापनका लागि नयाँ कार्यविधि ल्याउन लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *