अनामनगरमा निजी जग्गामा राखिएका सवारी समेत महानगरले उठाएपछि…

काठमाडौं । काठमाडौंको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ ।

काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधनसमेत उठाएको भन्दै सर्वसाधरण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो ।

यता महानगरीय प्रहरी भने सडकपेटीमा राखिएका सवारी साधनको व्यवस्थापनमा आफूहरू लागेका बताएको छ । महानगरपालिकाको विरुद्धमा सवारीसाधन चालकहरू विरोधमा उत्रिएपछि यो क्षेत्रमा प्रहरीसमेत परिचालन गर्नुपरेको समाचार आजको नागरिक दैनिकमा छ ।

समाचार अनुसार महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको सर्वसाधारणको आरोप छ । ‘यही क्षेत्रमा रहेका ट्राफिक प्रहरीले चासो नदिएको ठाउँमा समेत महानगरीय प्रहरी आएर अचानक मोटरसाइकल उठाए,’ विरोधमा उत्रिएका रवीन्द्र महतले भने, ‘उनीहरूको नियत व्यवस्थापन गर्नेभन्दा पनि दु:ख दिने देखियो ।’ महानगरपालिकाले एकलाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुन: आएर सवारीसाधन उठाएको उनको गुनासो छ ।

अनामनगरस्थित सिंहदरबारको पूर्वीगेटअगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल जबरजस्ती उठाएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् । विरोधमा उत्रेका सर्वसाधारणले काठमाडौं महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा समेत लिए ।

निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् । महानगरीय प्रहरीले भने सर्वसाधारणको आगमनमा अवरोध पुग्नेगरी पार्किङ गरेर राखिएका ९ वटा मोटरसाइकल उठाएको जनाएको छ । पार्किङ अनुमति नभएका, सडक र सडक पेटीमा राखिएको मोटरसाइकल उठाएर बग्गीखानामा लैजान खोज्दा केहीबेर तनाव भएको महानगरीय प्रहरीले जनाएको छ ।

महानगर प्रहरीलाई स्थानीयले जान नदिएपछि नगर प्रहरी राजु पाण्डेसहितको थप प्रहरी बल अनामनगर क्षेत्रमा पुगेको थियो । काठमाडौंका कुनैपनि निजी निवास अगाडि छोडिएको खालि ठाउँमा पार्किङ गर्न पनि पार्किङको छुट्टै नक्सा पास गरेको देखाउनुपर्ने नगरप्रहरी राजु पाण्डेले बताए । ‘हामी पार्किङ व्यवस्थापनमा लागेका छौं,’ उनले भने, ‘यो ज्यादती नभएर पैदलयात्री र सर्वसाधारणको आगमनको सहजताको लागि चालिएको कदमको निरन्तरता हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *