परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन आफूले कुनै पहल नगरेको जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो ।

एमाले प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले तत्काल सरकार गठनका लागि कुनै पहल नगरेको र वर्तमान सत्ता गठबन्धन दलहरूले नै पहल गर्ने भएकाले यो विषयमा मौन रहेको बताए । ‘ठुलो दल कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको छ तर अवस्था र परिस्थिति आए एमालेले पनि पहल गर्नेछ’, गुरुङले भने ।

यतिबेला वाम गठबन्धनको सरकार बनाउने चर्चा चलिरहे पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) वर्तमान सत्ता गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा छ । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरिसकेपछि नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्रीमा आफ्नो पार्टीको दाबी नभएकाले कांग्रेस र माओवादी केन्द्र दुईमध्ये एकले प्रधानमन्त्री लिएर सरकार बनाउनुपर्ने बताए ।

‘सरकार वर्तमान सत्ता गठबन्धन दलकै बन्छ, प्रधानमन्त्रीमा हाम्रो दाबी छैन। राष्ट्रपति वा सभामुखको विषय आए हामीले साथीहरूलाई पठाउनेछौँ । शक्ति सन्तुलनका हिसाबले कांग्रेसकै नेतृत्वमा सरकार बनाउँदा राम्रो हुन्छ, त्यसमा अन्य पदहरू मिलाउनुपर्छ’, खतिवडाले भने । नेकपा एसले शक्ति बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद भए आफ्नो पार्टीले पनि सरकारको नेतृत्व गर्न सक्ने जनाएको समाचार आजको नागरिक दैनिकमा छ ।

समाचार अनुसार एमालेले अहिले सरकार बनाउने विषयलाई प्राथमिकतामा नराखेको जनाए पनि अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा माओवादी र अन्य साना दलका नेताले सरकार बनाउने र सरकारमा जाने विषयमा के सोचिरहनुभएको छ भनेर सोधिरहेका छन् । वर्तमान सत्ता गठबन्धन नभत्किए एमालेलाई बहुमत पुर्‍याउन कठिन हुन्छ । यस्तो अवस्थामा सत्ता गठबन्धनबाट माओवादी छुट्टिएर आए मात्रै एमालेले सरकार गठनको पहल गर्ने सो दलका नेताहरूले बताएका छन् ।

ओलीले शनिबार एक कार्यक्रममा नयाँ सरकार गठनका लागि सांसदको भाउ बढेको र त्यसका लागि खेलकुद चलिरहेकाले आफूले हेरिरहेको अभिव्यक्ति दिएका थिए । यसको अर्थ एमाले सरकार गठनको विषयमा चुपचाप बसेको छैन भन्ने सन्देश हो । अहिलेको सत्ता गठबन्धनबाट माओवादी बाहिर आए कांग्रेससँग नेकपा एससहितका अन्य दललाई लिएर सरकार बनाउनुबाहेक कुनै विकल्प छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सहकार्य गरेको थियो । नयाँ प्रतिनिधिसभामा एमालेका ७८, राप्रपाका १४ र जसपाका १२ सिट छन् । सरकार गठनका लागि बहुमत संख्या १३८ पुर्‍याउन थप ३४ सांसद एमालेलाई चाहिन्छ । माओवादी केन्द्र एमाले गठबन्धनमा थपिए १३६ सिट हुन्छ । नेकपा एस पनि यतै आए उसको १० सिट जोडिँदा बहुमत पुग्छ । तर नेकपा एस सहजै एमालेले नेतृत्व गर्ने सरकारमा सहभागी हुने सम्भावना निकै कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *