देउवाप्रति आफ्नै दलका नेता सशंकित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषदका पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीबीच गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भयो । त्यो भेटवार्ताले राजनीतिक तरंग ल्याएको छ । रेग्मीलाई आगामी राष्ट्रपति बनाउने विषयमा यो वार्ता भएको भन्दै यो विषयले तरंग ल्याएको हो । वार्तामा के के कुरा भयो भन्ने विषयमा न प्रधानमन्त्रीका तर्फबाट केही प्रतिक्रिया आएको छ न त रेग्मीबाट नै । तर सत्ता पक्षकै नेताहरुले यस विषयमा टिप्पणीहरु गर्न थालेपछि भने देउवा र रेग्मीबीच आगामी राष्ट्रपतिका विषयमा छलफल भएको सहजै अनुमान लगाउन सकिन्छ । तर प्रधानमन्त्री देउवाका कानुनविज्ञ केशव जोशी रेग्मीसँगको भेटघाटमा राष्ट्रपतिको विषयमा छलफल नै नभएको जिकिर गर्दै आएका छन् ।

यदि यो विषयमा कुरा नभएको भए कांग्रेसकै महामन्त्रीहरु सविधानको मर्म विपरित राष्ट्रपति चयन गर्नु हुन्न भनेर किन भन्दै हिँडेका छन् त ? यसबाट पनि के पुष्टि हुन्छ भने देउवा र रेग्मीबीच यसै विषयमा छलफल भएको छ । देउवा र रेग्मीबीच भएको छलफलको विषयलाई लिएर कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टी सभापतिलाई खबरदारी गर्न थालेका छन् । महामन्त्री थापाले राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ । राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ ।’

अर्का महामन्त्री शर्माले पनि अहिले प्रधानमन्त्री भन्दा पनि राष्ट्रपति चयन ठूलो विषय भएको बताएका छन् । उनको भनाई छ,‘ अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको छ । गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यकता हो ।’

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने कुराले सत्तारुढ दल नेकपा माओवादी केन्द्र पनि असन्तुष्ट बनेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । उनले मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने बताएका छन् । उनले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको बताए । उनले भनेका छन्,‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि यो कुरा कतैबाट उठेको छैन । तर पनि कतिपय मिडियाहरुमार्फत् यो कुरा सुनिराखिएको छ । अब सुनेकै कुरा ठिक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन, दृष्टिकोण होइन ।’

संविधान त रेग्मीलाई राष्ट्रपति बन्न मिल्दैन । नेपालको संविधानको धारा १३२(२) ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश/न्यायाधीश भइसकेका व्यक्तिलाई राष्ट्रिय मानवाधिकार आयोगबाहेकमा नियुक्ति खान प्रतिबन्ध लगाएको छ ।

यस्तो थाहा हुँदाहुँदै किन रेग्मीलाई भावी राष्ट्रपति चयनका लागि चलखेल हुँदैछ भन्ने आमचासो रहेको छ । पूर्वसभामुख एवं नागरिक अगुवा दमननाथ ढुंगाना राजनीति र दलप्रति वितृष्ण बढ्नुको मुख्य कारण भागवण्डा भएको बताउँछन् । उनी भन्छन्, ‘राजनीति वा दलप्रतिको वितृष्णाको एउटा मुख्य कारण– नग्न भागवण्डा । राष्ट्रलाई हेरेर नियुक्ति भाग्छन् । उच्च, सर्वोच्च संवैधानिक पदको गरिमा बढाउने काम भएन ।’

कतिपयले त यसलाई लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति, सुशीला कार्कीलाई कसको इशारामा महाअभियोग लगाइएको थियो ? भन्ने हेक्का राख्नुपर्ने बताएका छन् । के यीनै शक्ति लागेका हुन् त रेग्मीलाई राष्ट्रपति बनाउन ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *