मोबाइलका कारण नाबालकहरूद्वारा दम्पतीको हत्या

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो ।

मोबाइल खोज्ने क्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो । मोबाइलधनी मगरले चोरी गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिए । मोबाइल चोर्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घटना त्यत्तिकै सामसुम भयो ।

वडाध्यक्ष कमल थापाका अनुसार यो घटना मङ्सिर पहिलो साता भएको थियो । तर मोबाइल चोर्दा पनि कारबाही गर्नुको सट्टा उल्टै पैसा पाएपछि ती बालक झन् हौसिए र दोस्रो पटक पनि सोही मोबाइल चोर्न मङ्सिर २४ गते मगर दम्पतीको घर गए । त्यतिखेर भने उनीहरूले मोबाइलमात्रै चोरेनन्, मोबाइल प्रयोग गर्दै आएका विष्णुबहादुरसहित उनकी श्रीमती ६७ वर्षीय नीरमाया आलेको समेत बीभत्स हत्या गरे ।

सुन्दा पनि आङ जिरिङ्ग हुने यो घटनामा संलग्न भएको आरोपमा ती बालकलाई काठमाडौँबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा चार दिनपछि पक्राउ गरिएको छ । ब्युरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेश खत्रीका अनुसार नागरिकता नबनेका कारण चोरीमा संलग्न नाबालक भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूको नाम गोप्य राखिएको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ । दुवै बालक स्थानीय स्कुलमा कक्षा ६ र ८ मा पढ्दै गरेका हुन् ।

यसरी भएको थियो घटना

उक्त घरमा आलेमगर दम्पतीमात्रै बस्नुहुन्थ्यो । वडाध्यक्ष थापाका अनुसार उनीहरूका छोराबुहारी काठमाडौँमा डेन्टल हाउस खोलेर बस्नुभएको छ । एकमात्र छोरीको विवाह भइसकेको छ ।

दम्पतीको हत्या २४ गते भए पनि २६ गते बिहानमात्रै स्थानीयले थाहा पाएका थिए । सँगै घाँसदाउरा गर्ने एक छिमेकी महिलाले २६ गते बिहान नीरमायाका श्रीमान् विष्णुबहादुरलाई घरबाहिरको खाटमा लडिरहेको अवस्थामा देखे । विष्णुबहादुरको शव देखेपछि आत्तिँदै उनले गाउँलेलाई खबर गरे । गाउँले आएर हेर्दा नीरमाया पनि घरभित्र लडिरहेकी थिइन् । यो घटना २४ गते बिहान करिब साढे सात बजेको थियो ।

कारुणिक दृश्य देखेपछि गाउँलेले तत्कालै वडाध्यक्ष थापा र इलाका प्रहरी कार्यालय सल्यानटार तथा जिल्ला प्रहरी कार्यालयमा पनि खबर गरे । वडाध्यक्ष थापाले भने, ‘साढे आठ बजेतिर खबर आए पनि म एक घण्टापछि पुगेको थिएँ । विष्णुबहादुर बाहिर खाटमा र नीरमाया घरभित्र लडिरहेको देखेँ ।’

बीभत्स हत्या देखेर आत्तिएका गाउँले छलफलमा जुट्दै गर्दा साँझसम्ममा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय सल्यानटार र कुकुरसहित काठमाडौँबाट गएको केन्द्रीय प्रहरी ब्युरोको टोलीसमेत पुग्यो । तीन दिनसम्म निरन्तर अनुसन्धान गर्नेक्रममा प्रहरीको टोलीले मङ्सिरकै पहिलो साता पनि मोबाइल चोरी भएको घटनाको जानकारी पायो । सोही जानकारीका आधारमा ती दुईसहित शङ्कास्पद पाँच जनालाई पक्राउ गर्‍यो । थप अनुसन्धान गर्दा पाँचमध्ये दुई बालकले दम्पतीको आफूहरूले हत्या गरेको र हत्यामा बन्चरो प्रयोग गरेको स्वीकारेका छन् ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ती बालकमध्ये एकले २४ गते आफ्नै घरबाट बन्चरो लगेर साथीको सहयोगमा दम्पतीको हत्या गरेर घरभित्र रहेको सन्दुक (काठको बाकस)समेत फुटाएका थिए । सन्दुक फुटाए पनि उनीहरूले त्यहाँ रहेको पैसा र नीरमायाले प्रयोग गर्ने सामान्य किप्याडवाला मोबाइल भने त्यहीँ छाडेका थिए । वडाध्यक्ष थापाका अनुसार विष्णुबहादुरको मोबाइल लिएर उनीहरू दुवै जना आइतबार र सोमबार स्कुलसमेत गएका थिए । विष्णुमायाको छोराले आइतबार फोन गर्दा घन्टी पनि गएको थियो ।

‘पटक–पटक फोन आएपछि त्यसको सिम फ्याँकेर उनीहरूले घरनजिकैको बाटोमा लुकाएका रहेछन् । दम्पतीलाई मार्न प्रयोग गरिएको बन्चरोको बिँड फ्याँकेर घरकै भुसको बोरामा लुकाएका रहेछन्,’ प्रहरीसँगै अनुसन्धानमा खटिएका थापाले भने, ‘सुन्दा पनि पत्याउनै नसकिने घटना घट्यो । एउटा मोबाइलका कारण वृद्ध दम्पतीले ज्यानै गुमाउनुपर्‍यो ।’ आलेमगर दम्पती घरमै बस्तुपालन तथा कृषिमा संलग्न थिए । हत्या आरोपित दुई बालक यसअघि पनि गाउँघरमा सरसामान चोरीमा संलग्न रहेको वडाध्यक्ष थापाले जानकारी दिए । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *