पालिकास्तरीय मेयर कपको उपाधि रत्ननगरलाई

चितवन । चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो । उपाधिसँगै रत्ननगरले एक लाख एक हजार ११ नगद पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता बनेको माडी नगरपालिकाले ५५ हजार पाँच सय ५५ पुरस्कार पाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले पुरस्कारले विजयी टिमलाई शिल्ड तथा मेडल प्रदान गरे ।

रत्ननगरलाई उपाधि जिताउन कुशल श्रेष्ठले एक गोल गरेका थिए । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्नुभएका श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले दुई हजार पाँच सय नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा जिल्लाका सात पालिकाका सात टिमको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य सौगात भुजेलले जानकारी दिए । समापन कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी सूर्यमान श्रेष्ठ, लेखनाथ घिमिरे, ललित थापा तथा बङ्गलादेशमा उत्कृष्ट खेल प्रदर्शन गरेका रत्ननगरका खेलाडी सुजता तामाङ र सुशीला केसीलाई सम्मान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *