कमलादीमा एक अर्ब ३५ करोडको लागतमा हिमालयन हस्पिटालिटी होटल निर्माण हुँदै

काठमाडौं । काठमाडौँको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । कूल एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ । होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुनेछन् ।

होटलमा कूल ९४ कोठामा दुई सय शय्या हुनेछन् । जसमा आठ वटा स्वीट रुम हुनेछन् । बेसमेन्ट दुई र भुई तल्ला गरी कूल नौ तले सो होटल इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटल प्रालिले निर्माण गर्न लागेको हो ।

होटलको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि केही दिन पहिले वन तथा वातावरण मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको छ । होटल निर्माण क्षेत्र वरपरको वातावरणीय प्रभावका बारेमा आवश्यक जानकारी दिन मन्त्रालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ ।

सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम ईन्भाइरोन्मेन्टल सर्भिसेज प्रालिले गरिरहेको छ । होटल सञ्चालन आएपछि करिब एक सय जनाले रोजगारी पाउने छन् ।

होटलमा आठ तलासम्म चार वटा ट्वीन रुम, छ वटा क्वीन रुम र एउटा स्वीट रुम रहनेछन् भने नवौँ तलामा दुई वटा ट्वीन रुम र चार वटा क्वीन रुम रहनेछन् । होटलमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका लागि र्यामका साथै दुई वटा कोठा निर्माण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *