जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी काम गर्न पार्टीका नवनिर्वाचित सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नवननिर्वाचित सांसदहरूका लागि आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्रीले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै संसदमा प्रभावकारी भूमिका खेल्न र जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीका नवनिर्वाचित सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए । कार्कीले छिट्टै गठबन्धनको बैठक बस्ने र सरकार गठनलगायतका विषयमा छलफल हुने जानकारी दिए ।

कांग्रेसले गठबन्धनको नेतृत्व गरेको र गठबन्धनलाई जनताले अनुमोदन गरेकाले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो। कांग्रेस नेता डा. शशांक कोइरालाले अहिले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिए ।

कांग्रेस नेता विमलेन्द्र निधिले पनि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताए। आफूले पार्टी सभापति देउवालाई नै पूर्ण रुपमा दलको नेतामा समर्थन गर्ने पनि दाबी गरे ।

गठबन्धनभित्रका अन्य दलले प्रधानमन्त्रीमा दाबी गर्नु अस्वभाविक नभएको उल्लेख गर्दै निधिले प्रधानमन्त्रीकै विषयले गठबन्धन तोडिने सम्भावना नरहेको दाबी पनि उनले गरे ।

नवनिर्वाचित सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन देउवालाई दबाब दिएको पनि बताइएको छ। आलोपालो प्रणलीमा प्रधानमन्त्री चलाउने र सुरुमा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी गरिरहेको सन्दर्भका सांसदहरुले त्यस्तो दबाब दिएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *