महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने, पुस १५ देखि सुरू हुँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शअन्तर्गतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो । तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लीमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् ।

उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवर्द्धन, वेबसाइट डिजाइनलगायत विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव अधिकारीले जानकारी दिइन् । यस्तै लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष जलानले अनलाइन व्यवसायलाई प्रवर्द्धन गर्न उद्यमी महिलालाई तालिम दिन लागिएको बताए । अनलाइन एपको विकाससँगै लेखासम्बन्धी तालिम समेत दिइने उनको भनाइ छ ।

तालिमसम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुने छ ।

हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिमरोजगारी सृजना गर्न र व्यावसायिक वृद्धिका लागि फलदायी हुने अपेक्षा गरे । सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेको सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण रहने अध्यक्ष मल्लको भनाई छ ।

विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकास राज्यको पनि प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीयतह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । तालिममा सहभागि इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटि समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *